
गोरखा । फलामको रेलिङ हाल्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गण्डकी गाउँपालिका–२ ताङ्लीचोक साँधीखोलाका २८ बर्षका टीकाराम थापा रहेको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो घ्याप्रिङ गाउँस्थित ठाकुर गुरुङको घरमा फलामको रेलिङ हाल्ने क्रममा थापालाई करेन्ट लागेको थियो । घाइते भएका उनलाई उपचारका लागि गोरखा अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।थापाको शव पोष्टमार्टम गरेर आफन्तलाई बुझाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी प्रकाश दाहालले बताए ।