
काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन् । जोनसनले नयाँ ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थालेपछि आपतकाल घोषणा गरेका हुन् ।
‘ओमिक्रोनको भीषण लहर आउने कुरामा कसैले पनि शंका गर्नु हुँदैन’, टेलिभिजनमा सम्बोधन गर्दैं जोनसनले भने, ‘नयाँ भेरियन्टविरुद्धको लडाइँमा हामीले एउटा आपतकाल सामना गरिरहेका छौं ।
‘ओमिक्रोन भेरियन्ट तीब्र रुपमा फैलिएसँगै बेलायतमा कोभिड सतर्कता बढाएर चार तहमा पुर्याइएको केही घण्टापछि नै जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका हुन् ।
उनले यसै हप्तादेखि १८ माथिका सबै व्यक्तिलाई बुस्टर डोज खोप लगाइने पनि जानकारी गराएका छन् । कोभिड खोपको २ डोजले आवश्यकता अनुसारको सुरक्षा प्रदान नगर्ने भएका बुस्टर डोज लगाउनु पर्ने उनको भनाइ थियो ।
ओमिक्रोन फैलिन नदिनका लागि सेनाका ४२ टोली सबै क्षेत्रमा परिचालन गरिने पनि जोनसनको भनाइ थियो । त्यस्तै इङल्याण्डभर थप खोप केन्द्र र घुम्ती सेवा स्थापना गरिने पनि उनले बताए ।
सरकारको नयाँ प्रतिबन्धात्मक नियम ‘प्लान बी’ अनुसार सोमबारदेखि मानिसहरूलाई घरबाटै काम गर्न समेत भनिएको छ । आइतबार बेलायतभर ओमिक्रोनका १ हजार २३९ नयाँ संक्रमित थपिएका छन् ।
योसँगै ओमिक्रोन भेरियन्ट ३ हजारभन्दा बढी मानिसमा पुष्टि भइसकेको छ । तर ओमिक्रोन संक्रमितको संख्या योभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ ।