
काठमाडौँ। काठमाडौँ विश्वविद्यालयको तीसौँ वार्षिकोत्सव समारोह विश्वविद्यालयको केन्द्रीय परिसरमा सम्पन्न भएको छ। विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा र संस्थापक उपकुलपति प्रा.डा .सुरेशराज शर्माले संयुक्त रूपमा ३०औँ वार्षिकोत्सवको प्रतीकस्वरूप ३० वटा परेवा उडाएर कार्यक्रम गरी मनाइएको हो।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयको स्थापना र विकासमा संलग्न रहेर शैक्षिक तथा प्रशासनिक क्षेत्रमा समेत कार्यरत रही जीवनको महत्त्वपूर्ण समय व्यतीत गरेका स्व। रामानन्द मिश्र र स्व. टीकादत्त बराललाई ‘केयू ओरेसन, २०२१’ बाट सम्मान गरिएको थियो।
सम्मानपत्र उपक्ुलपति प्रा.डा . भोला थापाले प्रदान गर्नुभएको थियो भने स्व। रामानन्द मिश्रका तर्फबाट उनका सुपुत्र अजय मिश्रले र स्व। टीकादत्त बरालका तर्फबाट उहाँकी धर्मपत्नी शोभा बरालले सम्मानपत्र ग्रहण गरेका थिए। सम्मानपत्रको बेहोरा रजिस्ट्रार प्रा.डा .सुबोध शर्माले पढेर सुनाएका थिए भने सम्मानित व्यक्तित्वको परिवारका तर्फबाट अजय मिश्र र कुमार बरालले मन्तव्य व्यक्त गरेका थिए।
स्कुल अफ आर्ट्सका कायममुकायम डिन सुश्री एक्कुमाया पुनले स्वागत मन्तव्य व्यक्त गरेको आजको समारोहमा प्राध्यापकहरूका तर्फबाट प्रा . डा . विवेक बरालले र कर्मचारीहरूका तर्फबाट सुरेन्द्र केसीले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन डा। हेमराज काफ्लेले गरेका थिए।
समापन मन्तव्य व्यक्त गर्दै उपकुलपति प्रा .डा .भोला थापाले काठमाडौँ विश्वविद्यालयको संस्थापक समूह, विश्वविद्यालयका सम्पूर्ण परिवार, अभिभावक, नेपाल सरकार, स्थानीय निकाय, स्थानीय समुदाय तथा स्वदेशी तथा विदेशी दातृसंस्थासहित सरोकारवाा सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्दै मङ्सिर २५ गतेलाई नेपालको उच्च शिक्षाको क्षेत्रमा एउटा कोसेढुङ्गो राखिएको दिन र इतिहासलाई स्मरण र सम्मान गरेर त्यसैका आधारमा भविष्यको मार्गचित्र कोर्ने अवसरका रूपमा लिन आग्रह गरेका थिए।
उनले भने, ‘काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा। सुरेशराज शर्माको समूहभित्र बसेर नेपाली र विदेशी थुप्रै अग्रजहरूले यस विश्वविद्यालयका लागि आफ्नो ज्ञान, सीप, समय, श्रम खर्च गर्नुभएको छ। यस विश्वविद्यालयले उहाँहरू सबैको योगदानको अभिलेख राख्नेछ, उहाँहरूको अनुभवबाट नयाँ पुस्तालाई सिकाउनेछ र उहाँहरूको योगदानको उचित कदर पनि गर्नेछ।’
नेपालमा प्रजातन्त्रको पुनस्र्थापना भएपछिको पहिलो संसद्ले काठमाडौँ विश्वविद्यालय ऐन २०४८ पारित गरेपछि २०४८ साल मङ्सिर २५ गतेदेखि यो ऐन लागू हुने भनी नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सोही मितिदेखि काठमाडौँ विश्वविद्यालय औपचारिक रूपमा अस्तित्वमा आएकाले मङ्सिर २५ गतेलाई काठमाडौँ विश्वविद्यालय दिवसका रूपमा मनाउने गरिएको छ ।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका पूर्वपदाधिकारी, निवृत्त प्राध्यापक र निवृत्त कर्मचारीका साथै वर्तमान पदाधिकारी, प्राध्यापक र कर्मचारीहरूको उपस्थिति थियो।