गोरखामा बालबालिकाको अवैध रुपमा हुने गरेको स्थानान्तरणलाई न्यूनीकरण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । ७३ औ अन्तराष्ट्रिय मानव अधिकास दिवसको अवसरमा शक्ति समूहको आयोजना, गोरखा नगरपालिकाको समन्वय तथा एक्पट लक्जम्बर्सको सहयोगमा शुक्रबार गोरखा सदरमुकाममा भएको एक दिने कार्याशाला गोष्ठीमा सहभागीहरुले बालबालिकाको अवैध स्थानान्तरणलाई न्यूनीकरण गर्नुपर्ने बताएका हुन् ।
बाल संरक्षण तथा मानव बेचविखन बिरुद्धको सवालमा स्थानीय सरकारको काम, कर्तव्य तथा अधिकार सम्बन्धी छलफल तथा अन्तरक्रिया भएको कार्यक्रमको समन्वयकर्ता शिबहरी तिमल्सिनाले बताए ।
कार्यक्रम पश्चात गोरखामा बाल संरक्षण लागि सबै स्थानीय तहमा कार्यविधि निर्माण गर्ने, बाल अधिकार समिति गठन गर्ने, स्थानीय सरकारको पहलमा बाल कोष खडा गर्ने निर्णय भएको शक्ति समूहको व्यवस्थापन समितिका सचिव दिलिप कोइरालाले जानकारी दिए ।
त्यस्तै, मावन बेचविखन न्यूनीकरणका लागि स्थानीय सरकारले खेल्नुपर्ने भूमिका, मानव बेचखविरुद्ध सरकारी नीतिका बारेमा पनि छलफल भएको थियो । गोरखाका विभिन्न स्थानबाट बालबालिकाको अवैध स्थानान्तरण भइरहेकोले यसलाई न्यूनीकरण गर्नुपर्ने बालअधिकार परिषदको क्षेत्रिय प्रतिनिधि बद्री प्रसाद वाग्लेले बताए ।
यस अघि भौतिक विकास निर्माणमा मात्र धेरै ध्यान गएको बताउँदै नगरपालिका उप्रमुख विना कुमारी श्रेष्ठले अब विभिन्न संघ संस्थाहरुसँगको समन्वय र सहकार्यमा बालअधिकार सम्बन्धी कार्यविधि निर्माण गरी प्रभावकारी ढंगले कार्यान्वयन गर्ने बताईन ।
शक्ति समूहको व्यवस्थापन समितिको सचिव एवं अधिवक्ता दिलिप कोइराला, बालअधिकार परिषदको क्षेत्रिय प्रतिनिधि बद्री प्रसाद वाग्ले, गोरखा नगरपालिका उप्रमुख विना कुमारी श्रेष्ठ, कार्यक्रम संचालन परियोजनाका व्यवस्थापक सरला तामाङ लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए । कार्यक्रममा गोरखा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शक्तिसमुहका प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।