
गोरखा । गोरखामा मानव अधिकार संरक्षणमा नागरिक समाज र सञ्चार माध्यमको भुमिका बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । ७३ औं अन्तराष्ट्रिय मानव अधिकार दिवशका अवसरमा शुक्रबार गोरखा सदरमुकाममा सरोकारवालावीच छलफल कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल मानवअधिकार संगठन गोरखा शाखाको संयोजन तथा सोच नेपालसहित राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र, नेपाल पत्रकार महासंघ गोरखा, एमनेष्टी इन्टरनेशनल समुह ७६, समुह ४२, महिला मानवअधिकार रक्षक सञ्जाल र इन्सेकको संयुक्त आयोजनामा भएको कार्यक्रममा गोरखामा मानव अधिकारको अवस्था र भावी योजनाकाबारे सरोकारवालावीच छलफल भएको हो ।


कार्यक्रमको विषय प्रवेशका लागि अधिवक्ता रमेश अधिकारीले मानवअधिकार सम्बन्धि अवधारणपत्र प्रस्तुत गरेका थिए । जसमा मानव अधिकारको परिचय, मानवअधिकार दिवशको इतिहास, दिवशको औचित्य, मानवअधिकारको संरक्षण र संवद्र्धनका नीम्ति बनेका अन्तराष्ट्रिय महासन्धीहरु, नेपालमा मानवअधिकार संरक्षणको लागि भएका प्रयासहरु, नेपालमा मानवअधिकारको सकरात्मक पक्षहरु, नेपालमा मानवअधिकारका सम्बन्धमा देखा परेका समस्याहरु लगायतका बिषयहरु समेटिएका थिए ।

नेपाल मानवअधिकार संगठन गोरखाका अध्यक्ष दिलबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठनागरिक संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने सहायक प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा अधिवक्ता अधिकारीको अवधारणा पत्रकाे आधारमा गोरखामा मानवअधिकारको अवस्था, देखिएका समस्या र चुनौती साथै समाधानका उपायका बारे सहभागीवीच खुला छलफल भएको थियो ।

छलफलमा बोल्दै नेपाल पत्रकार महासंघ गोरखाका पूर्व अध्यक्ष भिमलाल श्रेष्ठले मानवअधिकार सबैको साझा मुद्धा बन्नुपर्नेमा जोड दिए । उनले मानवअधिकारकर्मी मात्रै नभई मानवअधिकार रक्षक हुनुपर्ने समेत बताए ।

प्राकृतिक विपत्ती र भुगोलका कारण उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका नागरिक भोकमरीमा पर्ने जोखिम बढेको र बिरामी हुदा उपचार नपाएर अकालमै मर्नुपर्ने बाध्यतालाई मानवअधिकारकर्मीले गम्भिर रुपमा एकतावद्ध भएर उठाउनुपर्ने समेत तर्क गरे । पछिल्लो समय जिम्मेवारी लिने तर कार्यान्वयन नगर्ने प्रवृत्ति हावी हुदै गएको भन्दै श्रेष्ठले चिन्ता ब्यक्त गरे ।

त्यस्तै पत्रकार किरण लोहनीले कुनै पनि घटना घटेपछि मात्रै चिन्ता र चासोको बिषय बन्नु दुखद रहेको बताएका छन् । अधिकारकर्मी वा नागरिक समाजले समयमै समस्यालाई सवालको रुपमा उठान गर्न नसक्दा घटनाहरु गम्भिर रुपमा अगाडी आउने गरेको तर्क गर्दै उनले घटना घट्न नदिने तर्फ नै अधिकारकर्मीहरु सजग हुनुपर्नेमा जोड दिए । त्यस्तै उनले अधिकारका बिषय र कार्यक्रमहरु सदरमुकाममा मात्रै केन्द्रित बन्दा ग्रामिण गाउँ तथा बस्तीहरुमा झनै मानवअधिकारको अवस्था नाजुक बन्दै गएको बताएका छन् ।

कार्यक्रममा गोरखा क्याम्पसका प्राध्यापक ठाकुर प्रसाद खनालले गोष्ठि र सेमिनार गर्नु भन्दा ब्यवहारिक रुपमा मानवअधिकारका सवाललाई उठान गरी कार्यान्वयन गर्नुपर्ने बताए । अर्का सहभागी प्राध्यापक कमल कोइरालाले कानुन कमजोर र विपन्नका लागि मात्रै लागु हुने तर पहुँचवालाका लागि भने फरक रहेको दुखेसो गरे । उनले पहुँचका आधारमा सरोकारवालाहरुले कानूनको ब्याख्या गर्ने प्रवृत्ती रहेसम्म मानवअधिकार प्रवद्र्धन हुन नसक्ने तर्क गरे ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले सरकारका नजरमा कानून सबैका लागि बराबर रहेको बताए । मानवअधिकारको सवाल पाइला पाइलामा उठ्न जरुरी रहेको बताउदै उनले सरकार त्यसको कार्यान्वयनमा प्रतिवद्ध रहेको बताए । कार्यक्रमा बिभिन्न संघसंस्था तथा सरकारी निकायका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।