• आइतबार, असोज ४ २०८३

किन हिन्दी भाषामा डब हुँदैछन् नेपाली फिल्म ?


शुक्रबार, मंसिर २४ २०७८
730
Shares

काठमाडौं । दक्षिण भारतीय (साउथ) चलचित्रलाई हिन्दीमा डब गरेर नेपाल भित्र्याउँदा ‘काल पल्किएको’ भन्दै केही दिनदेखि निर्माता अर्जुन कुमार चर्को स्वरमा बोलिरहेका छन् ।

साउथका चलचित्रका हिन्दी डबले नेपाली चलचित्रको बजार प्रभावित पार्ने उनको तर्क छ । नेपालमा साउथको हिन्दी डब चलचित्र रिलिज हुन लागेको पहिलो पटक नभएपनि यसपटक अर्जुनले चर्को रुपमा आवाज उठाउँदा यो विषयले ठूलै चर्चा पाएको हो ।अर्जुनले हिन्दी डब चलचित्र नेपाल भित्र्याउने कुराको विरोध गरिरहँदा केही नेपाली चलचित्र भने धमाधम हिन्दी भाषामा डब गर्न थालिएको छ ।

हुन त, भारतका सिक्किम, दार्जिलिङ लगायतका स्थानमा नेपाली चलचित्र रिलिज नभएका होइनन् । तर, भारतका मुख्य शहरमा नेपाली चलचित्र प्रदर्शन गर्न सहज छैन ।

कोरोना महामारीका कारण लकडाउन भएपछि रिलिज हुन नपाएका केही चलचित्रमध्ये ‘प्रेमगीत ३’का निर्माताले यो चलचित्रलाई हिन्दी भाषामा डब गरेका छन् । भारतका चर्चित कलाकारहरुको आवाजमा रेकर्ड गरेर निर्माता तथा निर्देशक सन्तोष सेनले चलचित्रको भारतीय अधिकार बेचेको जानकारी दिइसकेका छन् ।

अब अन्य केही नेपाली चलचित्रलाई पनि हिन्दी भाषामा डब गर्ने तयारी थालिएको छ । डीआर मुभिजले केही समयअघि चलचित्र ‘प्रकाश’को डिजिटल र भारत रिलिजको अधिकार लियो । चलचित्रका निर्मातासँगको सम्झौतामा डीआर मुभिजले हिन्दी भाषामा डब गरेर भारतमा चलचित्र प्रदर्शन गर्ने उल्लेख छ ।

यो चलचित्रको डिजिटल र भारत राइट्सका लागि निर्माताले ६० लाख भन्दा बढी रकम पाएका छन् । डीआर मुभिजका प्रमुख श्याम धितालले अनलाइनखबरसँग भने, ‘हामीले नेपाली निर्मातासँग सम्झौता गरिसकेका छौं । तर, भारतमा डबिङ गरेर रिलिजका लागि भने हाम्रो कुराकानी मात्र अगाडि बढेको छ ।’

उनका अनुसार हिन्दी भाषामा डब गर्न डीआर मुभिजले ४० लाख भन्दा बढी रकम खर्च गर्नेछ । यसपछि मात्र भारतमा कुन कम्पनीलाई कसरी बेच्ने भन्ने विषयमा कुरा अगाडि बढ्नेछ ।

धितालले यो जोखिमपूर्ण काम भएपनि नेपाली चलचित्रलाई भारतीय बजारमा विस्तार गर्न सकेको खण्डमा नेपाली निर्माताको आम्दानीको स्रोत बढ्ने बताए ।

श्यामका अनुसार, भारतमा पनि नेपाली चलचित्रलाई माया गर्ने दर्शकको संख्या धेरै भएकाले बजार लिन सहज छ । डीआर मुभिजले नेपाली चलचित्र ‘कृष्ण लीला’को पनि हिन्दी भाषामा डब गरेर रिलिज गर्ने तयार अगाडि बढाएपनि फाइनल भने भैसकेको छैन ।

तर, हिन्दी भाषामा डब भएर नेपाली चलचित्र हलमा र ओटीटी प्लेटफर्ममा रिलिज हुन सकेको खण्डमा नेपाली चलचित्रको बजार फराकिलो हुने चलचित्रकर्मीहरु बताउँछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार