
पोखरामा आज बिहान भएको मालबाहक ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।पृथ्वी राजमार्गस्थित पोखरा महानगरपालिका–२६ विजयपुरमा लेखनाथबाट फलामे छड लिएर पोखरातर्फ आउँदै गरेको लु२ ख२९४८ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
घटनामा गम्भीर घाइते भएका लमजुङ पार्चे बस्ने ४२ वर्षीय भीमबहादुर तामाङ र नाम, थर, वतन नखुलेका अन्दाजी ४०÷४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।
दुर्घटनामा घाइते भएपछि दुवैलाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो। उपचारकै क्रममा आज बिहान ५ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।प्रहरीले उनीहरु ट्रकका चालक र सहचालक हुनसक्ने जनाएको छ। सवारीधनी र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रनाउ तिवारीले बताए।