
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले खेल्ने तीन खेल पोखरा रंगशालामा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक लिग फुटबल काठमाडौं बाहिर खेलाउन लागेको हो ।मनाङले पोखरालाई घरेलु मैदान बनाउने निर्णय गरेपछि नै एन्फाले यसवर्षको लिगका केही खेल पोखरा रंगशालामा खेलाउने तयारी गरेको थियो ।
पाँचौंदेखि सातौं चरणसम्म मनाङले खेल्ने तीन खेल पोखरामा हुने एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए । ‘पाँचौ, छैटौं र सातौं चरणको खेल पोखरामा हुनेछ । हामी त्यसको तयारी गरिरहेका छौँ’ तुलाधरले भने ।
मनाङले नेपाल पुलिस क्लब, ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबसंग पोखरामा खेल्नेछ । पाँचौं, छैटौं र सातौं चरणमा मनाङका प्रतिस्पर्धी तीन क्लबले पोखरा रंगशालामा मनाङसँग खेल्ने प्रस्ताव स्वीकार गरेपछि मोफसलमा लिगका खेल हुने पक्का भएको हो ।
लिगको शुरुको तीन चरणको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आयोजना भइसकेको छ । अब चौथो चरणको खेल पनि दशरथ रंगशालामा हुनेछ ।
एन्फाले ललितपुरको च्यासल फुटबल मैदानमा पनि यस पटक लिगको खेल खेलाउने तयारी गरिरहेको छ । यस्तै एन्फा कम्प्लेक्समा पनि लिग खेलाउने एन्फाको योजना छ ।