
अभिनेत्री उषा रजक फिल्म अभिनयमा कमब्याक गरेकी छन् । करिब ९ वर्षपछि उनले फिल्म ‘कठपुतली’ मार्फत अभिनयमा कमब्याक गरेकी हुन् । फिल्मको बुधबार राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको थियो । उक्त अवसरमा फिल्ममा कमब्याक गर्दा आफु खुसी तथा उत्साहित रहेको उनले बताइन् ।
‘कठपुतली’ हरर विषयमा निर्माण भएको फिल्म हो । फिल्म भूतप्रेत र धामी झाँक्रीको कथामा बनेको छ । फिल्ममा आफूले मेकअप विनाको भूतको अभिनय गरेको उनले बताइन् । जीवनमा अहिलेसम्म एउटा पनि हरर फिल्म नहेरेकी उनले ‘कठपुतली’ अभिनयबाट आफुले नौलो अनुभव सँगालेको सुनाइन् ।‘मलाई भूत–प्रेतप्रति धेरै विश्वास छ र डर लाग्छ’ उनले अगाडि भनिन्, ‘त्यसैले अहिलेसम्म हरर फिल्म हेरेकी छैनन् ।’
त्यही कारणले आफुले हरेक बिहान भगवानको मन्त्रजप्ने समेत गरेको बताएकी उनले रातमा ऐना समेत हेर्न नसक्ने सुनाइन् ।८ वर्ष किर्गिस्तान बसेर नेपाल फर्किएकी उनलाई यूएनडिपीमा रहेको समयमा फिल्मको अफर मिलेको थियो । कथा र आफ्नो भूमिका मन परेका कारण फिल्म अभिनय गरेको उनले खुलाइन् । उनले ‘वान डे’, ‘इकु’, ‘कुसुमे रुमाल २’, ‘कथा’ लगायत फिल्ममा उनले यस अगाडि अभिनय गरेकी थिइन् ।