• बुधबार, कार्तिक २६ २०८३

‘गुन्डा नाइके’ अभिषेक गिरीलाई मोरङ कारागार ल्याएपछि कैदीबन्दी आन्दोलित


बिहिबार, मंसिर २३ २०७८
1K
Shares

‘गुन्डा नाइके’ छवि बनाएका कैदी अभिषेक गिरीले मोरङ कारागारको चौकीदारको जिम्मेवारी पाएका छन् । काँग्रेस नेताहरूको जोडबलमा जिल्ला दुई हप्ता अघि मात्र अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरिरहेका गिरीलाई सप्तरी कारागारबाट मोरङ कारागार ल्याइएको थियो ।

मोरङ कारागार प्रशासनले गिरीलाई चौकीदार सरह काम गर्ने गरी जिम्मेवारी दिएको हो । जेलर महेन्द्रसिंह खड्काले गिरीलाई चौकीदार सरह काम गर्ने गरी जिम्मेवारी दिइएको बताए । मङ्सिर ९ गते उनलाई विराटनगरको हाटखोलास्थित मोरङ कारागार ल्याइएको थियो । गिरीलाई विराटनगर आउन नदिन कैदी बन्दीहरूले प्रदर्शन तथा आन्दोलन गरेका थिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले चौकीदारको जिम्मेवारी दिएको बारेमा आफूलाई जानकारी नआएको बताए । गिरीलाई मोरङ ल्याउनु अघि चौकीदार कात्तिक कामतको सरुवा गरिएको थियो । गिरीलाई मोरङ ल्याउनकै लागि कारागारबाट २३ जना कैदीबन्दीको सरुवा पनि गरियो । गत भदौ १७ गते डिल्लीबजार कारागारबाट मोरङ सरुवाको निर्णय भएपछि गिरीलाई कात्तिक १६ गते बिहान पहिलो पटक विराटनगर ल्याइएको थियो । तर कैदीबन्दीले प्रदर्शन गर्दै प्रवेश गर्न दिएनन्।

कैदीबन्दीले प्रवेश नदिएपछि कारागार व्यवस्था विभागले गिरीलाई सप्तरी कारागार सरुवा गरेको थियो । सप्तरी सरुवा भएको १७ दिनपछि काँग्रेस नेताहरूको दबाबमा उनको पुनः मोरङ सरुवाको निर्णय भयो । मङ्सिर ४ गते सरुवाको निर्णय भएपछि कारागारका नौ सय कैदीबन्दी गिरीको विपक्षमा उभिएका थिए । विपक्षमा उभिएका चौकीदार कात्तिक कामतसहित ८ जना कैदीलाई सरुवा गर्दै गिरीका लागि बाटो सहज बनाइएको थियो ।

त्यसअघि चौकीदार किरण गुरुङसहित १४ कैदीबन्दीलाई स्थानान्तरण गरियो । गिरीको विपक्षमा रहेका चौकीदार नवीन राईलाई सुरुमा झुम्का लगिएको थियो ।गिरी यसअघि पनि मोरङ कारागारमा चौकीदार थिए ।

चौकीदारको रूपमा रहँदा बजार क्षेत्रमा गुण्डागर्दी, फिरौती तथा असुलीको धन्दा चलाएको र कैदीबन्दीलाई यातना दिएको गुनासो आएपछि २०७४ साल चैत २३ गते डिल्ली बजार कारागार स्थानान्तरण गरिएको थियो । काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेपछि उनले पुनः विराटनगर आउने मौका पाएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार