
कोरोना भाइरसको नयाँ भेरियन्ट‘ओमीक्रोन’ का दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् ।
दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्।
मन्त्रालयका अनुसार दुई विदेशी नागरिकमा यो भेरियन्ट देखिएको हो। जसमा नेपाल आएका ६६ वर्षीय र ७१ वर्षीय विदेशी नागरिक रहेका छन्।
उनीहरु दुवैले दुवै खोपको मात्रा लगाएको खुलेको छ। उनीहरु नेगेटिभ पीसीआर रिपोर्ट लिएर नेपाल आएका थिए। तर नेपालमा गरिएको परीक्षणमा उक्त भेरियन्ट भेटिएको हो।आज रातिदेखि हङकङसहित यी ९ देशबाट नेपाल आउन नपाइने
नेपालमा ओमिक्रोन संक्रमित भेटिएपछि स्वास्थ्य मन्त्रालयमा मन्त्रिस्तरीय बैठक डाकिएको छ।
यसबारेमा मन्त्रालयले सोमबारै पत्रकार सम्मेलन गरेर थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।
यो भाइरस सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको थियो। आइतवार मात्रै भारतका विभिन्न प्रान्तमा १८ जनालाई यो भाइरस संक्रमण देखिएको थियो।
अहिलेसम्म यो भेरियन्ट विश्वका करिब ४० मुलुकमा पुगिसकेको छ। विश्व स्वास्थ्य संगठनले यो भेरियन्ट तीव्र संक्रामक भएकाले सचेत हुन आग्रह गरिसकेको छ।
‘ओमीक्रोन’ भाइरसको जोखिम बढेपछि नेपालले यसअघि नै हङकङसहित विभिन्न नौ मुलुक हुँदै आउने यात्रुलाई प्रतिबन्ध लगाइसकेको छ।
‘ओमीक्रोन’ तीव्र संक्रामक भए पनि यसबाट अहिलेसम्म कुनै पनि मुलुकमा ज्यान गएको छैन।