
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारमा जाने श्रमिकहरुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र छुट्टै विश्राम कक्ष पनि सञ्चालनमा आएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले विमानस्थलको श्रम इजाजत जाँच कक्षमा प्रवेश गर्नुअघि नै श्रमिकहरू बस्न मिल्ने गरी बनाइएको विश्राम कक्षको बुधबार उद्घाटन गरे ।
सो विश्राम कक्षमा मोबाइल चार्जिङ प्वाइन्ट, वाईफाई, कुर्सी, तातोरचिसो खानेपानी, टिभी, टेलिफोन र उडानबारे थाहा पाउने डिजिटल डिस्प्ले बोर्ड राखिएको छ ।‘झट्ट हेर्दा भीआईपी कक्षजस्तो देखिन्छ । कुनै गुनासो भए यात्रुहरुले त्यहींबाट फोन गर्न मिल्ने गरी फोन र फोन नम्बर पनि राखिदिएका छौं,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले अनलाइनखबरसँग भने ।
हाल ३० जना अट्ने विश्राम कक्ष रहेको र पछि त्यसलाई फराकिलो बनाउने योजना रहेको उनले सुनाए ।