• बिहिबार, साउन १४ २०८३

नेपालमा एड्स संक्रमणदर १० वर्षको तथ्याङ्कमा ६३ प्रतिशतले घट्यो


बुधबार, मंसिर १५ २०७८
2.1K
Shares

आज ३४ औं विश्व एड्स दिवस हो। नेपालमा पनि आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्व एड्स दिवस मनाइँदैछ।यस वर्ष दिवसको नारा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने तय गरिएको छ। सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउन थालिएको हो।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार नेपालमा एचआइभी एड्स सङ्क्रमणदर घट्दै गएको छ। १० वर्षको तथ्याङ्कलाई आधार मान्दा नेपालमा ६३ प्रतिशतले सङ्क्रमणदर घटेको केन्द्रका निर्देशक डा।सुधा देवकोटाले जानकारी दिइन्।

एड्सका कारण हुने मृत्युदर पनि ५५ प्रतिशतले घटेको केन्द्रले जनाएको छ। सरकारी तथ्यांक अनुसार अहिले नेपालमा तीस हजार तीन सय व्यक्ति एचआईभी एड्सबाट सङ्क्रमित छन्। सन् २०२० मा ७ सय ५४ जना नया ँसंक्रमित थपिएका थिए।जनचेतनाको अभिवृद्धिको कारण एचआइभी र एड्स संक्रमणदर घट्दै गएको केन्द्रले जनाएको छ।

एड्स नियन्त्रणको लागि विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम हुँदै आएका छन्। सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने तथा असुरक्षित ढंगले धेरै जनासँग शारीरिक सम्पर्क गर्ने व्यक्तिलाई एचआईभी एड्सको जोखिम बढी हुन्छ।

असुरक्षित यौनसम्पर्क नै एचआईभी एड्सको मुख्य कारण रहेको केन्द्रका निर्देशक देवकोटाले बताइन्। नियमित रुपमा एन्टिरेट्रो भाइरल औषधि सेवन गरेमा एचआईभी सङ्क्रमित व्यक्तिले पनि स्वस्थ जीवनयापन गर्न सक्ने चिकित्सकहरु बताउँछन्।।

नेपाल सरकारले एचआईभी सङ्क्रमितलाई तोकिएका स्वास्थ्य संस्थाबाट निःशुल्क एन्टिरेट्रोभाइरल उपचार सेवा दिँदै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार