• सोमबार, असोज ५ २०८३

पशुपतिमा बाला चतुर्दशी मेलाको तयारी


बुधबार, मंसिर १५ २०७८
630
Shares

काठमाडौं । यसवर्ष पशुपति क्षेत्रमा बाला चतुर्दशीको मेला लाग्ने भएको छ । गत वर्ष कोरोना जोखिम तीव्र रहेकाले पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी मेला औपचारिकरुपमा स्थगित गरेको थियो ।

यसवर्ष भने कोरोना जोखिम न्यून भएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर मेला सञ्चालनको तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो ।प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीको राति पशुपतिनाथ मूल मन्दिर प्राङ्गणमा दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।

रातभर महादीपदान गरेर बसेका भक्तजनले चतुर्दशीका दिन बिहान स्नान गरी पशुपति क्षेत्रको मृगस्थलीलगायत स्थानमा शतबीज छर्ने गर्छन् । यसो गरेमा दिवङ्गत पितृले शान्ति पाउने धार्मिक विश्वास छ ।

यसवर्ष यही मङ्सिर १६ गते राति महादीपदान गर्ने र मङ्सिर १७ गते बिहान शतबीज छर्ने दिन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।

यस अवसरमा देशका विभिन्न भागबाट भक्तजन पशुपतिनाथ मन्दिरमा आउने गर्छन् । यहाँ आउन नसक्ने भक्तजनले भने नजिकको शिवालयमा त्रयोदशीको राति महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्ने गर्छन् ।

कोरोना जोखिम न्यून भए पनि पूर्णरुपमा नियन्त्रण नभएकाले भक्तजनलाई अनिवार्य मास्क लगाएर पशुपति क्षेत्रमा प्रवेश गर्न कोषले आह्वान गरेको छ। चिसोबाट बच्न भक्तजनका लागि अधिकतम व्यवस्था गर्ने गरी कोषले तयारी गरेको कार्यकारी निर्देशक खतिवडाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार