• सोमबार, असोज ५ २०८३

महिला टी–२० विश्वकप यूएईसँग नेपाल ४८ रनले पराजित


आइतबार, मंसिर १२ २०७८
605
Shares

आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४८ रनले पराजित भएसँगै नेपाल ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ ।

आइतबार आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटको शीर्ष स्थानमा बस्दै ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई युएई विरुद्ध जितको विकल्प थिएन । प्रतियोगितामा दोस्रो हार व्यहोरेसँगै नेपाल एसिया छनोटबाट बाहिर भएको हो ।

शीर्ष स्थानको यूएई ५ खेलमा शतप्रतिशत जितसहित १० अंक जोड्दै ग्लोबल छनोटमा प्रवेश गर्यो । नेपाल भने पाँच खेलमा ६ अंकसहित दोस्रो स्थानमा रह्यो । जितको लागि १२८ रनको लक्ष्य पाएको नेपाल १९ ओभर ४ बलमा अल आउट हुँदै ७९ रनमा समेटियो ।

नेपालका लागि इन्दु बर्माले २० बलमा एक चौकासहित १५ रन र सीता राना मगरले आठ बलमा तीन चौकासहित १३ रन बनाए । अन्य खेलाडीको दोहोरो रन बनाउन सकेनन् । युएईकी समाइरा धारनीधार्काले सर्वाधिक चार विकेट लिइन् । यस्तै, खुशी शर्माले दुई तथा छाँया मुगाल र चमानी सेनेविरान्ताले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रनको योगफल तय गरेको थियो । युएईका लागि चमानीले ३६ बलमा सात चौकाको मद्दतमा अर्ध शतकसहित ५२ रन जोड्दा त्रिथा सतिसले ४६ बलमा तीन चौकाको मद्दतमा ४७ रन जोडिन् ।

नेपालकी कविता कुवँरले दुई, सवनम राई, सीता राना मगर र संगीता राईले समान एक विकेट लिए । पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित नेपालले दोस्रो खेलमा भुटानलाई आठ विकेटले पराजित गर्दै जित निकालेको थियो ।

तेस्रो खेलमा कुवेतलाई नौ विकेटले पराजित गर्दा नेपालले चौथो खेलमा मलेसियामाथि ६ विकेटको जित हात हासिल गरेको थियो । हारसँगै नेपालले सन् २०२३ मा हुने टी९२० महिला विश्वकप खेल्ने सपना अधुरै रह्यो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार