
काठमाडौं । वाइवाइ यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताले सुदूरपश्चिमले आइतबार कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले उत्कृष्ट बलिङ गर्दै कर्णाली प्रदेशलाई ६६ रनमा अलआउट गरेको थियो ।६७ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १२.१ ओभरमा विना क्षति ६९ रन बनाउँदै पूरा गरेको हो ।
सुदूरपश्चिमको लागि कप्तान खडग बोहराले ४२ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा अविजित ४१ रन बनाए । यस्तै नरेश भट्टले अविजित १६ रन जोडे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेश १६.५ ओभरमा सबै विकेट गुमाएर ६६ रनमा अलआउट भएको थियो । कर्णालीका लागि प्रकाश जैसीले १५, रमेश बुढाले १२ र रुपक दाहालले ११ रन बनाए ।
कर्णालीलाई अलआउट गर्न सुदूरपश्चिमका लागि आकाश चन्द, नारायण जोशी र शेर मल्लले तीनरतीन विकेट लिए ।
प्रतियोगितामा सुदूरपश्चिमको यो पहिलो जित हो । कर्णालीले भने पहिलो खेलमा लुम्बनीलाई हराएको थियो । तर त्यसपछि लगातार तेस्रो हार बेहोरेको हो ।