गोरखा । गोरखा नगरपालिका ८ को चुच्चेढुंगामा गणेश र भैरवको मूर्ति राखिएको छ । गोरखा नगरपालिकाको २ लाख आर्थिक सहयोगमा चुच्चेढुंगामा २ मूर्ति राखिएको हो ।
भैरव उत्पत्ति भएको दिन हिजो शनिबार एक कार्यक्रमको अवसर पारेर सो स्थानमा गणेश र भैरवको मुर्ति स्थापना गरिएको स्थानीय उमेश अर्यालले जानकारी दिए ।
स्थानीय बुद्धिजिवी कृष्णबहादुर थापा मगरको अध्यक्षतामा भएको एक कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले दुवै मूर्तिको अनावरण गरेका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पन्तले धर्म र संस्कृतिको संरक्षण र जगेर्ना गर्न सके सुसंस्कृत समाज निर्माण हुने विश्वास ब्यक्त गरे ।


राजनीतिक परिवर्तनका नाममा धर्म र संस्कृतीलाई लत्याउने र बिर्सने काम भइरहेको भन्दै त्यसतर्फ सचेत रहन समेत उनले आग्रह गरेका छन् । धार्मिक अनुसाशनले सभ्य परिवार र समाजसंगै सिंगो राष्ट्र निर्माण हुने तर्क गर्दै मेयर पन्तले यसको संरक्षण गर्नु सबैको जिम्मेवारी र दायित्व रहेको बताए ।
कार्यक्रममा उपमेयर विनाकुमारी श्रेष्ठ, वडा नम्बर ८ का वडाध्यक्ष कृष्णबहादुर खत्री, मूर्ति निर्माता गोरखा नगरपालिका ६ का नवराज श्रेष्ठ, स्थानीय कृष्ण बहादुर बस्नेत, कृष्ण बहादुर अर्याल, नेपाल पत्रकार महासंघ गोरखाका उपाध्यक्ष नरेन्द्र ढकाल लगायतले बोलेको कार्यक्रम सञ्चालक केशव घिमिरेले जानकारी दिए ।