• सोमबार, असोज ५ २०८३

उत्तरी गोरखाको सकसप्रति नागरिक समाजको चासो, बुझाए सिडिओलाई ज्ञापनपत्र


बिहिबार, मंसिर ९ २०७८
885
Shares

गोरखा । उत्तरी गोरखाका नागरिकले भोग्नुपरेको बिभिन्न समस्याप्रति नागरिक समाजले चासो ब्यक्त गरेका छन् । पहिरो, बाढी लगायतबाट पिडित बनेका उत्तरी क्षेत्र चुमनुब्री गाउँपालिकाका नागरिकको समस्याप्रति प्रशासनले चासो नदिएको भन्दै गोरखाका नागरिक समाजले ध्यानाकर्षण भएको जनाएको हो ।

नागरिक साझा सवाल गोरखाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यलाई ध्यानाकर्षणपत्र बुझाउदै नागरिक समाजले तत्काल समस्या समाधानका लागि पहलकदमी लिन आग्रह गरेको छ ।

संयोजक स्थानेश्वर दुवाडीद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उत्तरी गोरखाका नागरिकले भोग्नुपरेको बिभिन्न पिडा र समस्याको दिर्घकालिन समाधान खोज्न समेत आग्रह गरिएको छ । ४ बुदे माग राख्दै साझा सवालले भनेको छ ‘गत साउनको अन्त्यमा चुमनुब्री गाउँपालिका ६ को लोक्पा भन्ने स्थानमा गएको पहिरो र त्यसयता साविकको चुम्चेत र छेकम्पार गाविस क्षेत्रका करिब ७ सय परिवार गाउँमै थनिनुपरेको र पछिल्लो समय खाधान्न लगायतको जोहो गर्न पहिरोको प्रवाह नगरी जोखिम मोलेर त्यस क्षेत्रका बासिन्दाले यात्रा गर्न बिवश भइरहेकाले तत्काल सो को विकल्प खोज्दै र लोक्पासहित यारु लगायतका स्थानमा खसेको पहिरो दिर्घकालिन रुपमा नियन्त्रण गर्ने गरी प्रकृया अघि बढाउन र समस्या समाधानका लागि पहल गरिदिन अनुरोध छ ।’

त्यस्तै दोस्रो बुदामा असार १ गते बुढीगण्डकी नदीमा आएको बाढीले चुमनुब्री ३ सल्लेरी गाउँका ६ परिवार पूर्ण रुपमा विस्थापित भई हालसम्मपनि त्रिपाल टाँगेर र छिमेकीको घरमा शरण लिई जिवन गुजार्नुपर्ने बाध्यता रहेकाले तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गरी उचित राहतसमेतको ब्यवस्था गर्न माग गरिएको संयोजक दुवाडीले बताए ।

यसैगरी ध्यानाकर्षण पत्रमा उत्तरी गोरखाको सिर्दिबास डिपोमा गत असारदेखि चामल ढुवानी नहुँदा त्यसक्षेत्रका बासिन्दा समस्यामा परेकाले तत्काल चामल ढुवानी गरी वितरण गर्ने ब्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।

‘आरुघाट गाउँपालिकाको सोतीदेखि धार्चेको केन्द्र माछाखोलामार्गमा हालसम्म रुट परमिट समेत नभएको तर त्यस मार्गमा करिब १५ वटा नीजि बोलेरो, जिपहरु सञ्चालनमा रहेको साथै तिनले क्षमताभन्दा तेब्बरसम्म यात्रु राखेर महंगो भाडा असुल्दै जोखिमपूर्ण यात्रा गराइरहेकाले तत्काल समस्याको दिर्घकालिन समाधानका लागि पहल गरिदिनुहुन अनुरोध छ ।’ ध्यानाकर्षणको चौथो नम्बरमा उल्लेख छ ।

ध्यानाकर्षणपत्र बुझाउन बिहिबार दुवाडीसहित मानवअधिकार तथा शान्ती समाजका सिताराम तिवारी लगायत सञ्चारकर्मीहरु जिल्ला प्रशासन कार्यालय गोरखा पुगेका थिए ।

पत्र बुझदै प्रजिअ आचार्यले पहिरो लगायतका बिषयहरुको दिर्घकालिन समाधान खोजिदिन केन्द्र सरकारलाई पत्राचार गरिसकेको बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार