
गाेरखा । जिल्लाका ११ पालिका मध्ये सूचना प्रविधिको क्षमतामा सिरानचाेक गाउँपालिका उत्कृष्ट भएको छ । संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगत स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा मुल्याङ्कनमा जिल्लामा सिरानचाेक उत्कृष्ट भएको हो ।
मन्त्रालय अन्र्तगतको सूचना तथा प्रविधि शाखाले हालै सार्वजनिक गरहेको मूल्याङ्कन प्रतिवेदनका आधारमा सिरानचाेकले जिल्लाको ६ गाउँपालिका र एक नगरपालिकामध्ये सबैभन्दा बढी अंकभार प्राप्त गरेको छ ।
विद्यालयमा सिसि क्यामेरा, कार्यालय विद्युतिय हाजिरी, बैकल्पिक उर्जाका लागि सोलार, इन्टरनेट पुहँच, वेवसाईट ब्यवस्थापन जस्ता विषयका आधारमा पालिकाले ६० अंकभार प्राप्त गरेको हाे । मन्त्रालयले विभिन्न ७ क्षेत्रमा दिइएको सूचकाङ्कका आधारमा स्थानीय तहहरुको सूचना प्रविधि क्षमताको लेखाजोखा गरेको हो ।
स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा गरि तयार पारिएको मुल्याङ्कन प्रतिवेदन अनुसार सबैभन्दा धेरै सिरानचोक गाऊँपालिकाले ६० अंक प्राप्त गरेको छ । यस्तै पालुङटार नगरपालिकाले ५५, गण्डकी गाऊँपालिकाले ५१, भिमसेन थापा गाऊँपालिकाले ४७, अजिरकोटले ४५, आरुघाटले ४१ र धार्चे गाऊँपालिकाले ३७ अंक प्राप्त गरेका छन् ।
गोरखा नगरपालिका, चुमनुब्री गाऊँपालिका, वारपाक-सुलिकोट गाऊँपालिका र शहिद लखन गाऊँपालिका भने मुल्याङ्कनमा सहभागी नभएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । पालिकाको सूचना प्रविधि संगको सामिप्यता, सूचना प्रविधि सम्बन्धी संस्थागत क्षमता र सूचनासंग जोडिएका नागरिकको सेवाका विषयका आधारमा पालिकालाई अंक प्रदान गरेको थियो ।