
कोरोनाका कारण संक्रमण बढेसँगै अष्ट्रियाले पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको छ।
केही दिनअघि खोप नलगाएका मानिसका लागि मात्र लकडाउनको घोषणा गरेको अष्ट्रियाले संक्रमण नरोकिएको भन्दै सबैलाई लकडाउनको घोषणा गरेको हो।चान्सलर एलेक्जेन्डर स्केलेन्वर्गले यो लकडाउन बढीमा २० दिनसम्म जारी रहने बताएका छन्।
त्यसका कोभिड–१९ विरुद्धको खोपलाई पनि अनिवार्य बनाइने उनले बताएका छन्। आगामी फेब्रुअरीदेखि अष्ट्रियामा कोरोना खोप लगाएको प्रमाण आवश्यक कानुनी प्रक्रिया हुने उनको भनाइ छ।
पछिल्लो समय अष्ट्रियामा मात्र नभई समग्र युरोपमा कोरोना संक्रमण फैलिइरहेको छ। धेरै युरापेली मुलुकले संक्रमण बढेसँगै प्रतिबन्धका नियम पनि ल्याइरहेका छन्। ‘हामी कोरोनाको पाँचौं लहर आओस् भन्ने चाहँदैनौं’, स्केलेन्वर्गले भने।
उनले पछिल्लो केही समययता अष्ट्रियामा कोरोना खोप लगाउने मानिसको संख्या पनि बढेको बताएका छन्। अष्ट्रिया युरोपमा सबैभन्दा सुस्त कोरोना खोप अभियान चलाउनेमध्येको एक मुलुक हो।