• सोमबार, असोज ५ २०८३

अस्ट्रेलियाबाट एम्बुलेन्स किन्न पठाइएको २८ लाख उतै फिर्ता


सोमबार, मंसिर ६ २०७८
540
Shares

धौलागिरि अस्पतालका लागि सुविधायुक्त एम्बुलेन्स किन्न भनेर अस्ट्रेलियामा रहेका बागलुङेले पठाएको २८ लाख २ हजार रुपैयाँ फिर्ता गरिएको छ।

बागलुङ–अस्ट्रेलिया कमिटीमार्फत प्राप्त सो सहयोग रकमबाट दोस्रो श्रेणीको ट्रमा एम्बुलेन्स किन्ने योजना अस्पतालको थियो। तर एम्बुलेन्सलाई बजेट अपुग भएपछि बाध्य भएर पैसा फिर्ता गर्नुपरेको हालै सेवानिवृत्त अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताए।

ग्रामीण भेगमा फोर ह्विलबाहेकका एम्बुलेन्स किन्न नपाइने सरकारी नीतिका कारण प्रवासी नेपालीले पठाएको रकम सदुपयोग गर्न नसकिएको उनको भनाइ छ। भन्सार छुटसहित ५५ लाख रुपैयाँ पर्ने सो एम्बुलेन्सका लागि थप २७ लाख खाँचो थियो।

अस्पतालसँग स्रोत नभएको र मन्त्रालयसम्म धाउँदा पनि बजेट नपाएपछि जनस्तरबाट जुटेको सहयोग फिर्ता भएको हो। ‘मन्त्रालयले नीतिगत बाधा पनि फुकाउन सकेन, नागरिकले साझेदारी गर्छौंभन्दा पनि बजेट दिएन’, राना मगरले भने, ‘एम्बुलेन्स सेवाका लागि प्रवासीले गरेको सहयोग दुःखका साथ फिर्ता गर्नुपर्ने स्थिति आयो।’

अस्पतालले सुरुमा भारतीय फोर्स कम्पनीको टु ह्विल एम्बुलेन्स खरिदका लागि प्रक्रिया अगाडि बढाएको थियो। ८० लाख पर्ने सो एम्बुलेन्स भन्सार छुटमा २८ लाखमा आउने भएपछि दाताको मात्रै रकमले किन्न पुग्थ्यो। स्थानीय तह, प्रदेश हुँदै अगाडि बढाइएको एम्बुलेन्स खरिदको प्रस्ताव र सिफारिस सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्म पुगेर रोकिएको राना मगरले गुनासो गरे।

मन्त्रालयका पदाधिकारीले बागलुङका हकका विशेष निर्णय गरेर भए पनि टु ह्विल एम्बुलेन्स खरिदका लागि अनुमित दिने बताए पनि निर्णय नदिई अल्झाएर राखेको उनको आरोप छ।

‘मन्त्रालयमा धेरेपटक धायौँ, पछिल्लोपटक एम्बुलेन्स हेर्ने स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइमा पनि सोधखोज ग¥र्यौँ तर कुनै सुनुवाइ भएन’, उनले भने, ‘मन्त्रालयले टु ह्विल एम्बुलेन्स किन्न पनि नदिने र फोर ह्विलका लागि बजेट पनि नथप्ने भएपछि दाताको पैसा फिर्ता गर्ने निर्णयमा पुग्यौँ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार