
गोरखा । गाेरखासहित देशभर आजदेखि जनगणना सुरु हुदैछ । ‘मेरो जनगणना मेरो सहभागिता’ नारा सहित सुरु हुने जनगणनाका लागि सम्पूर्ण तयारी सहित सुपरिवेक्षक र गणक कार्यक्षेत्रमा खटाइसकिएकाे जिल्ला जनगणना कार्यालय गोरखाले जनाएको छ ।
जनगणनाका लागि खटिने गणकलाई आवश्यक पर्ने सबै विषय वस्तुबारे तालिमका क्रममा सिकाइएको कार्यालयका प्रमुख महेशप्रसाद ढुङ्गानाले जानकारी दिए ।

गोरखामा जनगणनाका लागि ४ सय ४ जना गणक खटिइएकाे छ । उनीहरुमध्ये गोरखा नगरपालिकामा ८२ जना र पालुङटार नगरपालिकामा ५९ जना गणक खटाइएकाे ढुंगानाले बताए । त्यस्तै भीमसेन थापा गाउँपालिकामा ३० जना, आरुघाटमा ३६ जना, धार्चेमा २४ जना, चुमनुब्रीमा १६ जना, अजिरकोटमा २२ जना गणक जनगणनामा खटिने छन् ।

यसैगरी, बारपाक सुलिकोट गाउँपालिकामा ३४ जना, सिरानचोकमा ३१ जना, शहीद लखनमा ३७ जना र गण्डकी गाउँपालिकामा ३१ जना गणक खटिने कार्यालयले जनाएको छ । जनसंख्याको आधारमा एउटा वडामा एक जनादेखि ११ जनासम्म गणक खटिने छन् ।
कार्यालका अनुसार एकजना गणकले बजार क्षेत्रमा दुईसयदेखि दुईसय ५० घरपरिबारसम्म गणना गर्नुपर्ने छ । ग्रामीण (पहाडी) क्षेत्रमा एकसय ७५ देखि दुईसय २५ घर परिबार र हिमाली क्षेत्रमा एकसय २५ देखि एकसय ७५ घरपरिवारको तथ्यांक संकलन गर्नुपर्ने छ ।

उनीहरुले हरेक घर, परिवारसम्म पुगेर कुल ८० वटा प्रश्न हाराहारी सोधिने भएको छ । एक परिवारमा औसत: एक जना गणकले २० मिनेट लगाउने उनले जानकारी दिए ।
त्यस्तै जिल्लाभर ९८ जना सुपरिवेक्षक समेत खटिएका छन् ।