गोरखा । गोरखा चेम्बर अफ कमर्सले नियम विपरित व्यापारीसँग पैसा असुल्दै आएको खुलेको छ । तिहारमा फुटपाथमा रङ र भाई मसला बेचेका व्यापारीसँग चेम्बरले गोरखा बाणिज्य संघको रसिदमा पैसा उठाएको हो । एक जनासँग २ हजारका दरले रकम उठाएको व्यपारीहरुले गुनासो गरेका छन् ।
‘ब्यापार नै भएन ल्याएको रङ यसै मिल्किएको छ,’ बसपार्क नजिकै रङ बेचेका गुड्डुप्रसाद दासले भने, ‘अलिअलि बेचेको पनि चेम्बरले लग्यो ।’ चेम्बरले उनको ६ हजारको रसिद काटेको छ । गुड्डुप्रसाद, उनको दाई र बाबुलाल शाहले गरेको व्यापारको एउटै रसिद काटिएको उनले बताए ।
‘म चेम्बरको सदस्य पनि छु, बाहिरको मान्छे जस्तो होइन, प्यान नम्बर हाले लिगल रुपमा ल्याएर बेचेको हो भन्दा पनि उहाँहरुले मान्नु भएन,’ उनले भने, ‘२ हजार नदिए रङ र भाई मसला बेच्न पाउँदैन भनेर जबरजस्ती रसिद काट्नुभयो ।’

यसैगरी राजबाबु शाहको नाममा पनि २ हजारको रसिद काटिएको छ । अन्य सँग पनि त्यसरी नै पैसा उठाइएको व्यापारीहरुले बताएका छन् । ‘हामीले फुटपाथमा राखेको पनि होइन,’ उनले भने, ‘घरबेटीसँग सल्लाह गरेर आँगनमा तिहारको सामान राखेका थियौं, त्यसै पैसा उठाइयो ।’
यता गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठले भने अनाधिकृत रुपमा रङ र मसलाको व्यापार हुँदा पनि प्रशासन र नगरपालिका चुप लागेर बसेकोले चेम्बरले पैसा उठाइको दाबी गरेका छन् ।
‘२ सय रुपैयाँ किलोको रङ ल्याएर २०÷२५ हजार बनाएको छ, जनता ठगिएका छन,’ उनले भने, ‘न दर्ता अनुमती लिएको छ । यो मनपरी भयो भनेर हामीले पैसा उठाउन खोजेका थियौं । पछि नगरपालिकाले उठाएको छ भन्ने सुनेपछि छोडिदिऔं ।’
गोरखा उद्योग वाणिज्य सघं र गोरखा चेम्बर अफ कमर्स कुनै तिर पनि आवद्ध नभएकाहरुसँग मात्र पैसा उठाइएको उनको भनाई छ । उक्त रकम व्यवसाय दर्ता गर्दा फिर्ता दिने श्रेष्ठले बताए ।
‘मसँग ४ जनाको ८ हजार रुपैयाँ छ,’ उनले भने,‘त्यो चाँही उनीहरुको व्यवसाय दर्ता गरिदिन्छु भनेर लिएको छु यसरी अनाधिकृत रुपमा व्यापार गर्न त पाइएन नी ।’ ती रङ बेच्न व्यक्ति गोरखा उद्योग वाणिज्य संघ र गोरखा चेम्बर अफ कमर्ससँग आवद्ध नभएको श्रेष्ठले बताइ रहँदा व्यापारी गुड्डुप्रसादले भने आफू चेम्बरकै सदस्य रहेको दाबी गरेका छन् ।
व्यापार व्यवसायलाई नियमन गर्ने जिम्मेवारी पाएको गोरखा नगरपालिकाले भने चेम्बरले व्यवसायीसँग पैसा उठाउनु गतल भएको प्रक्रिया दिएको छ । ‘यसरी व्यापारीसँग चेम्बरले पैसा उठाउन मिल्दैन, यो गलत हो,’ नगरप्रमुख राजनराज पन्तले भने, ‘मसँग पनि केही गुनासो आएको छ । अध्ययन गर्दैछु ।’
चेम्बरले व्यापारीसँग लिएको रकम फिर्ता गर्नु पर्ने नगरपालिकाले बताएको छ । यता प्रमुख जिल्ला अधिकारी शकंरहरी आर्चायले पनि चेम्बरले व्यवसायीसँग रकम उठाउन नपाउने बताएका छन् । ‘यदी दर्ता अनुमती बिना व्यापार व्यवसाय गरेको भए उहाँहरुले प्रशासनलाई खबर गर्नु प¥यो,’ उनले भने,‘तर चेम्बर जस्तो व्यपारी व्यवसायीको छाता सस्थाले यसरी पैसा उठाउन पाउँदैन ।’
जिल्लामा अहिले गोरखा उद्योग वाणिज्य संघ र गोरखा चेम्बर अफ कमर्स नामका दुई वटा छाता संस्था छन् । दुई संस्था वीचको अस्वस्थ प्रतिस्पर्धाका कारण बढि सदस्य आफू तिर तान्न यस्ता घटना हुने गरेको सरोकारवालाहरु बताउँछन् ।