गोरखा । गोरखाको आरुघाट गाउँपालिका ३ सोतीदेखि धार्चे गाउँपालिकाको केन्द्र माछाखोलासम्मको सडक खण्डमा बोलेरो तथा जिप ब्यवसायीले लुट मच्चाएका छन् । नेपाली सेनाको अधिनमा रहेको सो सडक खण्डमा रातो नम्बर प्लेटधारी जिप ब्यवसायीले जनतालाई सेवाको नाममा चर्को भाडा असुल्दै आएको खुलेको हो ।
‘बाटो १५ किलोमिटर पनि छैन, भाडा चाही गोरखादेखि काठामण्डौसम्मको लिन्छन्’ एक यात्रुले दुखेसो गर्दै भने ‘गाडीमा मान्छे नि कोचाकोच गरेर लैजान्छन, के गर्नु जस्तो भएनि चढ्नै पर्ने बाध्यता छ ।’

सोतीदेखि माछाखोलासम्म १३ किलोमिटर सडकमा स्थानीय जिप ब्यवसायीले भाडा मात्रै चर्को लिने होइन, यात्रु समेत तेब्बर राखेर जोखिमपूर्ण यात्रा गराउछन् । बोलेरो तथा जिपले ५ जनासम्म यात्रु राख्न पाउने भएपनि त्याहा रातो प्लेटधारी जिपहरुले १५ देखि २० जनासम्म यात्रु कोचेर कच्चि सडकमा जोखिमपूर्ण यात्रा गराइरहेको पाइएको हो ।
नियमले रातो प्लेटले यात्रु बोक्न नपाउने नियम पनि छ तर त्याहाका ब्यवसायीलाई न सिट क्षमताको नियम लागु हुन्छ, न भाडा नै । उत्तरी गोरखा जाने मुख्य नाकाको रुपमा रहेको सो खण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ ।

हालसम्म रुट परमिटसम्म पनि नभएको सो सडकमा जिप ब्यवसायीको सिण्डिकेट मात्रै होइन दादागिरीपनि उस्तै छ । ‘पैसा तिरेर पनि भनेको बेला काँह जान पाइन्छ र, २० जना यात्रु नभई गाडी स्टार्ट नै गर्दैनन’ माछाखोलाबाट गोरखा बजार आउदै गरेका जिवन गुरुङले सिभिलखबरलाई भने ‘यहाँ गाडी चलाउन अनुमती छैन रे, इन्स्योरेन्स पनि छैन भन्ने सुनेको छु, केहि भइहाले आफै जिम्मेवारी हुनुपर्छ भन्छन् गाडीवाला नै ।’
कुनै पनि समितिमा समेत दर्ता नभएका १५ भन्दा बढी जिपहरुले बाहिरबाट यात्रु लिएर गएका अन्य सवारीलाई प्रवेशमा समेत रोक लगाउछन् । स्थानीय केही जिपधनी र ट्रर्याक खोल्दै गरेको हावाडाँडा स्थित नेपाली सेनाको सहमतीमा सिमित सवारी साधनलाई मात्रै माछाखोला जान दिइन्छ । सेनाको आडमा स्थानीय जिप ब्यवसायीले सोती–माछाखोला सडक खण्डमा सेवाको नाममा जनतालाई झनै सास्ती दिदै आएका छन् ।

सो बिषयमा रिपोर्टिङ गर्न केहिदिन अघि माछाखोला पुगेका केहि सञ्चारकर्मीलाई त्याहाका जिप ब्यवसायीले दुर्ब्यवहार समेत गरेका छन् । उनिहरुले भिडियो नखिच्न भन्दै धम्किपूर्ण भाषा समेत प्रयोग गरेका थिए ।
हालसम्म परमिटसम्म पनि नपाएको सो खण्डमा चल्ने रातो प्लेटका जिपहरुको धन्दालाई प्रहरी प्रशासनले समेत नदेखेझै गर्ने गरेको छ । ‘परमिट नै नभएको सडकमा गाडी त चलाउनै पाइदैन नि, त्यसमा पनि रातो प्लेटले परमिट भएको रोडमा पनि यात्रु बोक्न नपाउने हो’ गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सिभिलखबरसंग भने ‘माथीका जनतालाई सहज हुने विकल्प खोज्न जरुरी छ, के रहेछ म बुझ्छु ।’
आरुघाट ३ को हावाडाँडाँदेखि चुमनुब्री गाउँपालिकाको लार्केभञ्ज्याङसम्मको साढे ९२ किलोमिटर सडकको ट्र¥याक खोल्ने काम हाल नेपाली सेनाले गरिरहेको छ ।
