गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी—भैलोलगायतका कार्यक्रम राति ८ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ ।

प्रशासनले एक सूचना जारी गरी कोभिड—१९ सङ्क्रमणको जोखिम कायमै रहेकाले सरकारले निर्धारण गरेको स्वास्थ्य मापण्ड पूर्णपालना गरी देउसी—भैलोजस्ता नाचगान कार्यक्रम राति ८ः०० बजेसम्म मात्र सञ्चालन गर्न आदेश जारी गरेको हो ।
यसैगरी देउसी—भैलो कार्यक्रम सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासितरूपमा सञ्चालन गर्नसमेत आग्रह गरिएको छ ।
प्रशासनले पटका, आतसवाजी, झिरझिरे, भुइँचम्पाजस्ता विष्फोटजन्य पदार्थ प्रयोग नगर्न र यस्ता पदार्थको निकासी, ओसारपसार एवं बिक्री वितरण नगर्न आग्रह गरेको छ ।
चाडपर्वका समयमा मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिकस्थलमा होहल्ला गर्ने एवं झैझगडा गर्ने कार्यमा रोक लगाइएको प्रशासनले जनाएको छ ।
धार्मिकस्थलहरुमा अनावश्यक भीडभाड हुन नदिइ स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी पूजापाठलगायतका अन्य क्रियाकलाप सञ्चालन गर्न पनि अपिल गरिएको छ ।
