गोरखा । गोरखामा एकसाता अघिको बेमौसमी वर्षाले दुई करोड रुपैयाँ बराबरको धानबालीमा क्षति भएको छ । गत असोज ३१ गतेदेखि लगातार चारदिन सम्म परेको बर्षाले जिल्लाको ९ पालिकाको छ सय ७६ मेट्रिकटन धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।


एक करोड ९६ लाख १६ हजार चार सय ७० रुपैयाँ बरावरको धानबालीमा क्षति भएको प्रारम्भिक बिवरण आएको ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले जानकारी दिए । तीन हजार पाँच सय ६९ रोपनीमा लगाएको धानबालीमा क्षति पुगेको उनले बताए ।
बिवरण अनुसार सबैभन्दा धेरै गोरखा नगरपालिका क्षेत्रमा ११ सय ४० रोपनीमा लगाएको दुईसय १६ मेट्रिकटन धानबाली नष्ट भएको छ । त्यस्तै बारपाक सुलिकोट गाउँपालिकाको पाँचसय रोपनीमा लगाएका ९५ मेट्रिक टन, गण्डकी गाउँपालिकाको चार सय ७० रोपनीमा लगाएको ८९ मेट्रिकटन धानखेती नष्ट भएको ज्ञानकेन्द्रले अनुमान गरेको छ ।

त्यस्तै पालुङटार नगरपालिकाको चारसय २७ रोपनीमा लगाएको ८१ मेट्रिक टन, शहीदलखन गाउँपालिकाको दुई सय ८५ रोपनीमा लगाएको ५४ मेट्रिकटन र भीमसेन थापा गाउँपालिकाको एक सयरोपनीमा लगाएको १९ मेट्रिक टन धानमा क्षति पुगेको छ ।आजिरकोट गाँउपालिकामा दुई सय ५० रोपनीमा लगाएको ४७.५ मेट्रिक टन धानमा क्षति पुगेको ज्ञानकेन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्रले स्थानीय तहको कृषि शाखाबाट लिएको तथ्याङ्कअनुसार सिरानचोक गाउँपालिकामा एकसय ४० रोपनीमा लगाएको २६ मेट्रिकटन, आरुघाट गाउँपालिकाको दुई सय ५७रोपनीमा लगाएको ४७ मेट्रिकटन धान नष्ट भएको छ ।
गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकामा धान खेती नहुने भएकाले क्षतिको बिवरण छैन ।
