पहिरोमा पुरिएर मृत्यु भएका बैतडीको शिवनाथ गाउँपालिका–६ बसेडीका पीडित परिवारलाई किरिया खर्च उपलब्ध गराइएको छ ।


जिल्ला विपद् व्यवस्थापन समितिले बसेडीका भानु, देवानी र पवित्रा पार्कीका परिवारलाई किरिया खर्चबापत एकमुष्ट एक लाख २० हजार उपलब्ध गराएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
उनले भने, ‘मृतकको गाउँमै पुगेर किरिया खर्च उपलब्ध गराएका हौं, संघीय सरकारले दिने राहतबाट कट्टी गर्ने गरी तत्कालका लागि राहत दिएका छौँ ।’ संघीय सरकारले बाढीपहिरोबाट मृत्यु भएकालाई प्रतिव्यक्ति दुई लाख १५ हजार र सोही घरका थप अरुको पनि मृत्यु भए जनही एक लाख थप राहत दिने निर्णय गरेको थियो ।
यही कात्तिक २ गते घरमाथिबाट खसेको पहिरोमा पुरिएर तीनै जनाको मृत्यु भएको थियो । यस्तै शिवनाथ गाउँपालिकाले पनि मृतकका परिवारलाई जनही ५० हजार राहत दिने निर्णय गरेको अध्यक्ष कर्ण साउदले जानकारी दिए ।
बैतडीमा पहिरोमा परेर चार जनाको मृत्यु भएकामा सुर्नया गाउँपालिका–५ की परुदेवी महराको पहिरोमै परेर मृत्यु भएको थियो । बाटो बन्द रहेकाले परुदेवीको परिवारसम्म पुग्न नसकिएको र केही दिनभित्रै किरिया खर्च उपलब्ध गराइने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
गत असोज ३१ गते रातिदेखि तीन दिनसम्म अविरल परेको पानीले जिल्लाका विभिन्न भागमा ठूलो क्षति पुर्याएको थियो । रासस
