गोरखा । मृगाैला पिडितलाई नव ईन्द्रेणी बुंकोट युवा क्लवद्वारा आर्थिक सहयोग गरेकाे छ ।
शहीद लखन गाउँपालिका ८ काे साे क्लवले बोर्लाङका मृगाैला पिडित निशान श्रेष्ठ (गणेश) का लागि आर्थिक सहयोग हस्तान्तरण गरेको हाे ।
शनिबार एक कार्यक्रमका बीच क्लवका अध्यक्ष राजेश श्रेष्ठले आर्थिक संकलन अभियान्ताद्वय नवीन श्रेष्ठ र वीरेन्द्र श्रेष्ठलाई ३४ हजार ५४० रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
शहीदलखन गाउँपालिका ८ का वडाअध्यक्ष काशिनाथ अम्गाई र ७ का वडाअध्यक्ष शरण श्रेष्ठ र क्लवका संरक्षक पूर्णकुमार श्रेष्ठको रोहबरमा क्लवले सो रकम हस्तान्तरण गरेको श्रेष्ठले जानकारी दिए ।
भीमसेन थापा गाउँपालिका ७ बोर्लाङका २४ वर्षीय निशान श्रेष्ठ केहि वर्षदेखि मिर्गौलाको रोगले सिकिस्त छन् । उनी हेटौँडास्थित मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलासिश गराइरहेका छन् ।
श्रेष्ठको उपचारमा सहयोग गर्ने उद्देश्यले सो नवइन्द्रेणी बुंकोट युवा क्लवको अगुवाइमा रकम संकलन भएको क्लवका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
उनले सहयोग अभियानमा साथ दिने सहयोगदाताहरुलाई धन्यवाद दिँदै बिरामीको सफल उपचारको कामना गरेका छन् ।
एकदशकदेखि सक्रिय सो क्लवले यसअघि पनि विभिन्न मानवीय तथा सामाजिक काम गर्दै आएको छ ।