काठमाडौं । काठमाडौंको पुतलीसडकमा रहेको एकता प्रेस छापाखानाका संचालकको हत्या गरेर भागेका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।


दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर ८ का छापाखानाका संचालक ३१ वर्षीय अर्जुन भन्ने खिमबहादुर शिवाकोटीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
प्रहरीले काठमाडौं महानगरपालिका वडा २६ म्हैपीबाट प्युठान घर भई काठमाडौंको धुम्बाराही बस्ने ४१ वर्षीय शनी नरसिंह राणालाई पक्राउ गरेको हो। उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गत असोज १५ गते पक्राउ गरेको थियो। उनी पक्राउ परेको बारे प्रहरीले बुधबार जानकारी दिएको हो।
२०६१ पुस २२ गते छापाखाना अगाडि उनीहरूबीच पार्किङको विषयमा विवाद भएको थियो। विवादपछि उनीहरूले खिमबहादुरमाथि हेल्मेट, फलामको रड र चिया पकाउने भाडो समेतले कुटपिट गरी घाइते बनाएर भागेको आरोप छ।

कुटपिटबाट घाइते भएका खिमबहादुरलाई उपचारको लागि वीर अस्पताल लगिएको थियो। त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको थियो।
घटनामा संलग्न व्यक्तिहरू खोजी गर्ने क्रममा बा १६ प ८६५४ नम्बरको बुलेट मोटरसाइकल आउनेहरूले कुटपिट गरेको खुलेको थियो। प्रहरीले लामो समयदेखि फरार रहेका राणालाई १७ वर्षपछि पक्राउ गरेको हो।
कर्तव्य ज्यान मुद्दामा उनीमाथि थप अनुसन्धान गर्न वृत्त सिंहदरबारमा राखिएको छ। यही मुद्दामा थप दुई जना फरार छन्। हत्यामा संलग्न बा.१६ प ८६५४ नम्बरको बुलेट मोटरसाइकल धनी ईश्वरी राणा र गोरखा सिरान्चोक घर भएका धन बहादुर गुरुङ फरार छन् ।
