मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर आज मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन्। विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन्।


गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबभन्दा बढी इलाममा ११ र डोटीमा नौ जना छन्। दुई जिल्लामा पहिराले मानवीय क्षति गराएको हो।
त्यसपछि पहिरामा परी हुम्ला, धनकुटा र पाँचथरमा छरछ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।
यस्तै, बैतडीमा चार, कालीकोटमा एक, डडेल्धुरामा एक, प्युठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एक जनाको मृत्यु भएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए।
पहिरामा परेर सबभन्दा बढी बझाङमा २३ जना बेपत्ता भएका छन्। यस्तै, डोटीमा एक, प्युठानमा दुई, इलाममा पाँच जना बेपत्ता छन्। विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन्। असोज ३१ गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा पानी पार्ने प्रणाली सक्रिय भएको थियो।
यो क्रम आज पनि जारी छ। हराएकाहरूको खोजी कार्य र फसेकाहरूको उद्दार कार्य जारी रहेको गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिइन्। रासस
