मोहसिन अलि मियाँ
गोरखा । अहिले जिल्लाका अधिकांश सडकमा चल्ने यातायातका साधानमा दशैं मनाएर फर्किनेको भिडभाड देख्न सकिन्छ । गोरखा घर भएर बिभिन्न जिल्लामा बसोबास गर्दै आएका सर्वसाधारणले दशैं सकिएसंगै आ–आफ्नो गन्तब्यको यात्रा तय गरेपछि जिल्लाका अधिकांश छोटो तथा लामो दुरीको यातायातका साधन खचाखच यात्रुले भरिएका छन् ।
यात्रु बोक्न पाउने बस मात्रै होइन अहिले जिल्लाका अधिकांश ग्रामिण सडकमा ट्रक, टिप्पर, ट्याक्टर र निजी बोलेरोका साथै जिपहरुमा समेत सर्वसाधारण सकसपूर्ण यात्रा गर्न बाध्य छन् ।

पछिल्लो समय गाउँगाउँका सडकलाई स्तरोन्नती गर्ने काम पनि भइरहेको छ । कतिपय ग्रामिण सडक त कालोपत्रे समेत भइसकेका छन् । तर गोरखा सदरमुकाम छिर्ने नाकाकै सडक हिलाम्मे बन्दा यात्रु र सवारीले दिनहुँ सकस भोग्नुपरिरहेको छ ।
गोरखा सदरमुकाम भएर ग्रामीण भेग जाने अस्पतालमार्ग–बराह–फिनाम सडक खण्डमा निर्माण ब्यवशायीको चरम लापर्वाहीका कारण पैदलयात्री, सवारी र तिनमा यात्रा गर्ने सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ ।

२०७७ भदौ २४ गते पक्की नाली सहित कालोपत्रे गर्ने ठेक्का पाएको बानियाँ निर्माण सेवाले सडक निर्माण कार्य ढिला गर्दा सडक अहिले हिलाम्य मात्रै बनेको छैन, सवारी दुर्घटनाको जोखिमपनि उत्तिकै बढाएको छ ।
गाउँबाट कालोपत्रे सडकमा सरर यात्रा गर्दै आएका यात्रुहरु सदरमुकामकै नाकामा आएर भने हिलाम्मे हुनुपर्ने बाध्यता छ । ‘हामी २ घण्टा भयो हिलोमा अड्किएको, अझै कति बेर बस्नु पर्ने हो थाहा छैन’ ताप्लेबाट काठमाण्डौ जादै गरेका नविन क्षेत्रीले भने ‘ठेकेदारले काम गरेन भनेर कोहिपनि पन्छिन मिल्दैन, जनताले कतिञ्जेल दुख पाउने ? यसमा यहाँका साँसद, मेयर लगायतका जनप्रतिनिधीहरुको पनि आँखा पुग्न जरुरी छ ।’

निर्माण ब्यवशायीले सडक खनेर छाडेका छन् । ग्राबेल नगरेका कारण र बिस्तार मात्रै गरेकाले पानीले झनै हिलो बनाएको छ । यो बाटोमा दिनहुँ सयौ सवारीहरु कुद्ने गर्छन । जिल्लाका अधिकांश स्थानमा पुग्न यसै सडकको प्रयोग गर्नुपर्ने बाध्यता पनि छ ।
यो सडकबाट गोरखा सदरमुकाम हुदै फिनाम, ताप्ले, अश्राङ, घ्याम्पेशाल, आरुघाट, बोलाङ, बुङ्कोट, सोती, माछाखोला, ताकुकोट लगायत ठाउँमा सवारी साधन आउजाउ गर्छन । बाटोको अवस्था जिर्ण बन्दा सवारी चालकले समेत हैरानी खेप्दै आएका छन् ।

‘ज्यान मात्रै होइन बसपनि जोखिममा राखेर प्यासेन्जर लिएर हिड्नु परेको छ’ आरुपोखरीबाट गोरखा बजार आएदै गर्दा ढुंगागाढे हिलोमा अड्किएका एक बसका चालकले भने ‘उताबाट प्यासेन्जर ल्यायो, उठेको पैसा सबै ग्यारेजमा तिर्दैमा ठिक्क हुन्छ, के फाइदा ?’
चार दशमलव ६ किलोमिटर सडक दुई वर्ष भित्र निर्माण सक्ने गरी ८ करोड ४७ लाखमा बानियाँ निर्माण सेवाले जिम्मा लिएको हो । सकसपूर्ण यात्रासंगै जोखिम पनि उत्तिकै छ । ट्याक्टर, ट्रक र बसका छत अनि ढोकामा झुण्डिएर यात्रा गर्नुपर्दा गन्तब्यसम्म पनि नपुगिने होकी भन्ने त्रास उनिहरुमा छ ।

‘जिन्दगीमा धेरै यात्रा गरियो तर पहिलोपल्ट यस्तो दुख भोग्दैछु’ चितवनबाट आरुघाट जादै गरेका एक मोटरसाइकल चालकले भने ‘ठेकेदारले काम गरेन भन्नेसम्मपनि नेता र सम्बन्धित कार्यालयसंग हिम्मत छैन, किन यस्तो भइरहेको छ, के हामी सधै यसरी नै बाच्नुपर्ने अनि भोग्नुपर्ने हो ?’
गोरखा सदरमुकाम भएर नारेश्वर जाने सडकको हबिगत पनि उस्तै छ । पूर्वाधार कार्यालय गोरखाले २०७६ फागुन १४ गते रौताहापि.के/गोरखा जेभिलाई दुई वर्षमा निर्माण सक्ने गरी २५ करोड ६३ लाख रुपैयाँमा ठेक्का दिएको थियो। १० किलोमिटर लामो गैरीकुवा–नारेश्वर सडक खण्ड पक्कि नाली सहित प्रिमिक्स कार्पेट प्रविधिबाट कालोपत्रे गर्ने सम्झौता भएको हो। चाडवाडका बेला सरमुकाम भएर जाने अन्य सडक हिलाम्य हुँदा जेष्ठ नागरिक र बालवालिकाहरु झनै समस्या परेका छन् ।

चाड पर्वमा काठमाण्डौ, पोखरा, चितवन लगायतका जिल्लाबाट घर फर्केकालाई अहिले गन्तब्यसम्म पुग्न सकसपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । त्यसो त यात्रा मात्रै सकसपूर्ण होइन, सवारीले दशैंको मौका छोपेर जिल्लामा संचालनमा रहेका यातायातका साधनले यात्रुहरुसंग मनोमानी भाडा लिने गरेको पाइएको छ ।

‘काउण्टरमा गयो टिकट सकियो भन्छन्, बस चढाउन स्टाफहरु तनातान गर्छन, भाडा कति भन्यो रिजर्भ हो डबल लाग्छ भन्छन्’ नामजुङ घर भई काठमाण्डौ जान हरमटारीमा बस कुरिरहेकी कल्पना श्रेष्ठले भनिन ‘यसमा कसले हो अनुगमन गर्ने, दशैं भनेको लुट्ने पर्व मात्रै हो र ?’



