• बुधबार, असोज ७ २०८३

दशैं भ्याकेसन : बन्दीपुरमा पर्यटक खचाखच, हाेटल भरिभराउ


सोमबार, कार्तिक १ २०७८
925
Shares

तनहुँ । अहिले नेपालीको महान पर्व दशैं चलिरहेकाे छ । दशैंमा कार्यालय, विद्यालय, बैंक तथा वित्तीय संस्था, उद्योगधन्दा लगायत बन्द भएको मौका छाेपी कोरोना कहरमा झण्डै २ बर्ष घरभित्रै थुनिएर बसेका धेरैजसो परिवार घुम्न निस्किने क्रम बढेकाे छ ।

काेराेना कहरकाे संक्रमण दर घट्न थालेपछि देशका पर्यटकिय स्थलहरु आन्तरिक पर्यटकले भरिभराउ बन्दै गएका छन् । जसमा तनहुँकाे बन्दिपुर पर्यटककाे राेजाईमा पर्ने गरेकाे छ । यतिबेला बन्दीपुरमा आनतरिक पर्यटकको चहलपहल बढेको छ ।

पहाडकी रानी भनेर चिनिने बन्दीपुरमा दसैँको फुलपातीदेखि नै पर्यटकको संख्या बढ्न थालेकाे हाे । २०७६, २०७७ र यसै बर्ष समेत लामो समय भएकाे लकडाउनकाे प्रभावबाट विस्तारै तंग्रिँदै गरेको बन्दीपुरमा दसैँको बेला बढेको पर्यटकको चहलपहलले पर्यटनमा आशा जगाएको हाेटल ब्यवसायीहरु बताउछन् ।

दसैँको बेला बन्दीपुरमा देखिएको पर्यटकको चहलपहलले होटल व्यवसायीलाई उत्साहित बनाएको बन्दीपुरमा होटल डि बन्दीपुर र हिमालय एसेस होटल सञ्चालन गर्दै आएका वसन्तराज पौडेलले बताए । पर्यटक बढीरहेको समय बन्दीपुर कोरोनाबाट सुरक्षित भएको प्रचासप्रसार गरेर घुम्न आउनलाई निम्तो बाँड्न आवश्यक रहेको उनले बताए ।

मौलिक शहर बन्दीपुरमा पर्यटकलाई लोभ्याउने आधार हो, भक्तपुरे शैलीमा बनेका ईट्टाका घर । बुट्टा भरेका आँखीझ्याल । कलाले सिंगारेको टुँडाल । कोलाहालमुक्त बन्दीपुर बजार । भिमसेनको मन्दिर, थानीमाई, खड्गदेवी र तीनधारे । अन्नपुर्ण, धौलागिरि, लमजुङ, गोरखा, मनास्लु, बौद्ध, फिस्टेल हिमालसँगै १९ हिमचुचुरा देखिने टुँडिखेल । मर्स्याङ्दी नदीले बनाएको सुन्दर उपत्यका । विश्व प्रसिद्ध चीनको ग्रेटवालको झल्को दिनेगरी बनाइएको मुकुन्देश्वरी पर्खाल ।

बन्दीपुरका यिनै गन्तव्यमा यतिबेला पर्यटकको चहलपहल देखिन्छ र अधिकांश होटल पाहुनाले भरिभराउ छन् । बन्दीपुरमा बास बस्ने सोचले घुम्न आएका पर्यटक होटलमा कोठा नपाएर फर्कनु पर्ने अवस्था रहेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिए ।

बन्दीपुरमा साना ठुला गरेर ७० बढी होटल रेष्टुरेन्ट छन् । त्यससंगै बन्दीपुर बजार आसपासमा झण्डै आधा दर्जन होमस्टे समेत सञ्चालनमा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार