• बुधबार, असोज ७ २०८३

बस दुर्घटना हुँदा २३ जनाको घटनास्थलमै मृत्यु, १८ बढी घाइते


मंगलबार, असोज २६ २०७८
565
Shares

बस दुर्घटना हुँदा मुगुमा २३ जनाको घटनास्थलमै मृत्यु भएको छ। 

नेपालगन्जबाट मुगु गइरहेको बस जिल्ला प्रवेश गरेलगत्तै छायाँनाथ रारा नगरपालिका ७ मा भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) चित्रबहादुर भट्टले जानकारी दिए। 

उनका अनुसार घटनामा १८ बढी घाइते भएका छन्। सामान्य घाइते हुने पनि धेरै रहेको उनले जानकारी दिए। 

प्रनाउ भट्टले भने, ‘जिल्लामा ५ किमि प्रवेश गरेपछि बस ५०० मिटर तल भीरमा खसेको हो। बसमा कति यात्रु थिए खुल्न बाँकी छ। हामी उद्धारमा जुटेका छौँ।’ 

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले छायाँनाथ रारा नगरपालिका ७ मा उक्त बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको पुष्टि गरे। 

‘२२ जनाको मृत्यु भएको छ। म अहिले घटनास्थलमै घाइतेको उद्धारमा खटिएको छ। घटनाको विस्तृत विवरण पछि आउँछ,’ प्रजिअ महतले भने।

अहिले उद्धार कार्य भइरहेको प्रनाउ भट्टले बताए। उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धारमा जुटेका छन्। 

बसभित्र अझै यात्रु चेपिएको हुनसक्ने उनले जानकारी दिए। 

यता छायानाथ नगरकी उपप्रमुख सुन्तला रोकायाले बाँकेको नेपालगञ्जबाट मुगुको गमगढीका लागि छुटेको यात्रुवाहक बस वडा नम्बर ७ र ८ को सीमामा पर्ने घ्यारीखोलामा दुर्घटनामा परेको जानकारी दिइन्।

उनका अनुसार नेपालगञ्जबाट ७० जना यात्रु बोकेर बस गमगढीका लागि छुटेको थियो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार