प्रहरीले नुवाकोटमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रक्राउ गरेको छ।
लिखु गाउँपालिका वडा नम्बर ४ चौघडा रानिबास बस्ने ३२ वर्षीया सुशिला राईको हत्या आरोपमा ३५ वर्षीय राजकुमार राईलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

घरायसी विवाद हुँदा सुशिलामाथि राजकुमारले खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट सुशिला गम्भीर घाइते भएकी थिइन्।
घाइते सुशिलाको उपचारको लागि जिल्ला अस्पताल त्रिशुली पठाइएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको थियो। उनीहरूका तीन जना छोरी छन्।
खुकुरी प्रहार भएको खबरपछि प्रहरी घटनास्थल पुगेर श्रीमानलाई नियन्त्रणमा लिएको थियो। शवको पोष्टमार्टम भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए।
