• बुधबार, असोज ७ २०८३

मदिरा सेवन गरी महिला स्वास्थ्यकर्मीमाथि हातपात


शुक्रबार, असोज २२ २०७८
1.6K
Shares


बैतडीमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । पुर्चौडी नगरपालिका–१ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो ।

पुर्चौडी–१ कुडीखेत टोलका सुरेन्द्रबहादुर धनुसेले मदिरा सेवन गरी बिहीबार बेलुका महिला स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन् ।

कार्यालयमै रहेका बेला बेलुका साढे ७ः०० बजेतिर मदिरा सेवन गरेर आएका धनुसेले स्वास्थ्यकर्मीमाथि गालीगलौज र हातपात गरेको स्वास्थ्यचौकी इन्चार्ज हेल्थ असिस्टेन्ट दीपेन्द्रबहादुर धामीले बताए ।

कोरोना खोप नलगाएको भन्दै मदिरा सेवन गरेर स्वास्थ्यकर्मीमाथि हातपात र गालीगलौज गरेको बुझिएको छ ।

स्वास्थ्यकर्मीमाथि आक्रमण हुन थालेपछि असुरक्षित महसुस भएको इन्चार्ज धामीले बताए ।

घटनापश्चात हाट स्वास्थ्यचौकीका इन्चार्ज हेल्थ असिस्टेन्ट धामीलगायत चार जनाले धुनसेविरुद्ध प्रहरी चौकी पुरघाट निवेदन दिएका छन् ।

हातपात र गालीगलौज गरेको भन्दै चार जनाले निवेदन दिएका प्रहरी चौकी पुरघाटका प्रहरी निरीक्षक निराजन सुनारले जानकारी दिए ।

उनले भने, “हातपात र गालीगलौज गरेको भनेर चार जना स्वास्थ्यकर्मीले निवेदन दिएका छन्, घटना के हो, के कारणले घटना भयो भन्ने खुलेको छैन, दुवै पक्षलाई बोलाएर छलफलपछि थाहा हुन्छ ।” हातपात र गालीगलौज गर्ने धनुसे भने फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार