गोरखा । हिन्दु धर्मावलम्बीहरुको प्रमुख शक्तिपिठहरु मध्ये गोरखाको गोरखकाली मन्दिरमा जमरा राखिएको छ । आज बिहिबार बिहान ११ बजेर ४६ मिनेटको शुभसाइत पारेर गोरखकाली मन्दिरसहित गोरखनाथ मन्दिर, उपल्लो कोट, तल्लो कोट मन्दिरमा बाजागाजासहित हर्ष बढाँई गरेर जमरा राखिएको हो ।
कालिका भगवतीको मन्दिरमा दुई पाथी चार माना, गोरखनाथ गुफामा एक पाथी बाँकी उपल्लोकोट, तल्लोकोटमा जमरा राखिएको मुल पूजारी शारदा प्रसाद भट्टराईले बताए ।
त्यस्तै आज घटस्थापनाका दिन पारेर कालिका माताको प्रतिमालाई कैलाश कोठाबाट गोरखकाली मन्दिरको पूजा कोठामा सारिएको छ । धार्मिक वीधिपूर्वक बिहान पाँच बजेर ४० मिनेटमा कालिकाको माथिल्लो कोठाबाट मुल पुजा कोठामा कालिका भगवतीलाई सारिएको थियो ।

कालिका भगवतीको प्रतिमालाई विजया दशमीको टिकाको साइतपछि कन्य कोठामा राज गराइने र पूर्णिमाको दिन शुभसाइतमा हर्ष बढाईका साथ पुन कैलाश कोठामा सारिने प्रचलन रहेको पूजारी भट्टराईको भनाई छ ।
घटस्थापनाका दिन गोरखकाली मन्दिरमा एक सरकारी बलि समेत दिइएको छ । गोरखकाली मन्दिरमा बली सहितको पुजाआज गर्ने भक्तजन दशैँको अवसरमा धेरै हुने गर्छन । अष्टमीको दिन भक्तजनको झनै भिड लाग्छ । कोभिड १९ का कारण बिगत दुई वर्ष दशैँमा भक्तजनका लागि बली खुला गरिएको थिएन ।

यता भूकम्प गएको साडे ६ बर्ष बितिसक्दा समेत गोरखा दरबार पुर्ननिर्माणको नसकिदा र चर्किएको गोरखकाली मन्दिरमा समेत मर्मत सम्भार चलिरहदा पूजा आजामा समस्या भएको छ । त्यस्तै मन्दिरमा आउने भक्तजनले समेत सास्ती खेप्नु परेको छ । २ बर्षअघि नै सकिनुपर्ने गोरखा दरबार पुर्ननिर्माणको काम अहिलेसम्म ८५ प्रतिशत मात्रै सकिएको छ भने मन्दिर मर्मतको काम बल्ल सुरु गरिएको दरबार हेरचाह अड्डाका प्रमुख हरि प्रसाद भुषालले बताए ।

गोरखा दरबारको बाँकी १५ प्रतिशत काम आगामी असार मसान्तसम्म सक्न पुरातात्व विभागले पुन ठेक्का गरेको छ भने गोरखकाली मन्दिरको मर्मत सम्भार गर्न ३ करोड रुपैयामा भदौ पहिलो साता ठेकेदारसंग सम्झौता भएको थियो ।
भूकम्पले चर्काएको मन्दिर मर्मतमा सरकारले समयमै चासो नदिदा दर्शनका लागि आउने भक्तजनले जोखिमसंगै ६ बर्षदेखि सास्ती पनि खेप्दै आउनु परेकाे छ भने मन्दिरमा हुने नियमित पूजा र विशेष पूजासहित बलि दिने प्रकृयामा समस्या हुदै आएको छ ।
तस्विरहरु : माेहसिन अलि मियाँ / सिभिलखबर