• बुधबार, असोज ७ २०८३

भैरहवालाई हराउँदै पोखरा इपिएलको फाइनलमा


बिहिबार, असोज २१ २०७८
865
Shares


भैरहवा ग्लाडिएटर्सलाई पराजित गर्दै पोखरा राइनोज एभरेस्ट प्रिमियर लिग (इपिएल) टी—२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार त्रिवि मैदानमा भएको दोस्रो क्वालिफायरमा भैहरवालाई ७ विकेटले पराजित गर्दै पोखरा उपाधिको नजिक पुगेको हो।

अब उपाधिका लागि पोखरा र चितवन टाइगर्सबीच आगामी शनिबार प्रतिस्पर्धा हुनेछ।

बिहीबार भैरहवाले दिएको १२० रनको लक्ष्य पोखराले १८.२ ओभरमा ३ विकेटको क्षतिमा पार गर्‍यो।

पोखराका लागि ओपनर रिचार्ड लेभीले १४ रन जोड्दा अर्का ओपनर रित गौतम ६ रनमा आउट भए। लोकेश बम शून्यमा आउट भए।

सहान अराचसिगेले नटआउट ५३ रन जोडे। उनले ४४ बलमा ७ चौका हिर्काए। यस्तै विपिन रावलले नटआउट ४० रन बटुले। उनले ३४ बलमा ३ चौका र १ छक्का हिर्काए।

बलिङमा भैरहवाका भुवन कार्कीले २ विकेट लिन सफल भए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले ६ विकेटको क्षतिमा ११९ रन जोड्यो।

भैरहवाका लागि कप्तान शरद भेषवाकरले नटआउट ३२ रन जोडे। उनले ३३ बलमा २ चौका र १ छक्का हिर्काए। यस्तै आरिफ शेखले २७ रन जोड्दा रोहित पौडेलले १८ रन, प्रदीप ऐरीले ११ रन र उपुल थारांगाले १० रन मात्र बनाउन सके।

बलिङमा पोखराका सहान अरचसिगे र किशोर महतोले २—२ विकेट लिए। नन्दन यादव र असेला गुणरत्नले १—१ विकेट लिन सफल भए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार