एजेन्सी । क्यानेडियन नोरा फतेहीले बलिउडमा आइटम गीतहरुबाट चर्चा कमाइरहेकी छिन्। उनको नृत्य रहेको अधिकांश गीतहरुले रेकर्ड राखेका छन्।
हालै अभिनेता अल्लु अर्जुनको नयाँ फिल्म ‘पुष्पा भाग १’को समूहले पनि नोरालाई आइटम गीतमा काम गर्न प्रस्ताव राखेको छ। कोइमोइका अनुसार यसका लागि नोराले ठूलो रकम माग गरेकी छन्।
‘पुष्पा भाग १’ रिलिज हुनुअघि नै पोस्टर र गीतबाट हलचल मचाइसकेको फिल्म हो। सुकुमारको निर्देशनमा बन्ने यो फिल्ममा नोराले आइटम डान्स गर्ने खबरले दर्शकलाई उत्साहित बनाएको छ।
सुरुमा यो आइटम गीतका लागि अभिनेत्री दिशा पटानी र पूजा हेडगेसँग कुरा गरिएको थियो। उनीहरुले अस्वीकार गरेपछि नोरालाई प्रस्ताव गरिएको कोइमोइले जनाएको छ। यता नोरा फतेहीले सो आइटम गीतमा नृत्य गर्न दुई करोड भारु पारिश्रमिक माग गरेकी छन्।
नोराले भारतको दक्षिण फिल्म क्षेत्रमा काम गर्न लागेको यो पहिलो पटक होइन। उनले यसअघि तेलूगु फिल्म ‘टेम्पर’ र ‘बाहुबली’का आइटम गीतमा नृत्य गरेकी थिइन्। त्योबेला उनले करिब चार लाख भारु पारिश्रमिक लिएकी थिइन्। नोराको चर्चा एकाएक बढ्न थालेपछि उनले आफ्नो पारिश्रमिक पनि बढाएकी हुन्।
रिर्पोटका अनुसार ‘पुष्पा भाग १’ फिल्मका निर्माताले नोरालाई आइटम गीतको लागि लिने वा नलिने भनेर निश्चित भएको छैन।
नोराले आइटम डान्स गर्ने भइन् भने उनलाई र अल्लु अर्जुनलाई एउटै स्क्रिनमा हेर्नु रोचक हुने कोइमोइले लेखेको छ।