• बुधबार, असोज ७ २०८३

अमेरिकामा नेपाली हरर फिल्म ‘कठपुतली’लाई दुई अवार्ड


बुधबार, असोज २० २०७८
745
Shares


काठमाडौं । नेपाली हरर फिल्म ‘कठपुतली’ले अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुई वटा महत्त्वपूर्ण अवार्ड जितेको छ।

सेप्टेम्बर २३ देखि अक्टोबर २ सम्म चलेको फेस्टिभलमा फिल्मले ‘बेस्ट हरर फिचर फिल्म’ र ‘इन्डी पिक्स अवार्ड’ जितेको हो।

फेस्टिभलमा यो फिल्म ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनोट भएको थियो। हरर विधातर्फ उत्कृष्ट बनेको यो फिल्मले जितेको ‘इन्डी पिक्स अवार्ड’अमेरिकाको ओटीटी प्लाटफर्ममा आधारित छ। यो अवार्ड जित्नु भनेको ‘इन्डी पिक्स’ नामक ओटीटी प्लाटफर्मले फिल्म रिलिजका लागि अफर गर्नु हो। सो फेस्टिभलमा जम्मा चार वटा फिल्मले यो अवार्ड जितेका छन्।

फिल्मले दुई वटा अवार्ड जितेकोमा निर्माता पृथ्वी रानामगरले खुसी व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय मञ्चमा लैजाने मेरो सपना अन्ततः पूरा भएको छ। यसका लागि मैले २० वर्षदेखि यात्रा सुरु गरेको थिएँ। कयौं पटक निराश पनि भएँ तर फिल्म निर्माणको जोश कहिल्यै कम भएन। यो अवार्डले फिल्म निर्माणमा थप हौसला दिएको छ।’

फिल्मका निर्देशक भीमसेन लामाले यो सफलताका लागि आफूलाई विश्वास गर्ने फिल्मको सम्पूर्ण टिम जिम्मेवार रहेको बताए। सम्पदा मल्लको कथा, पटकथा र संवाद रहेको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ।

फिल्मलाई चाँडै नेपालमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ। अवस्था सामान्य बन्दै गएकाले आगामी पुस–माघसम्म फिल्मलाई रिलिज गरिने निर्माता मगरले बताए। हरर फिल्ममा ‘कठपुतली’ले एउटा इट्टा थप्ने उनको विश्वास छ।

फिल्मको सह— निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन्। पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको ‘कठपुतली’ अन्य हरर फिल्मभन्दा भिन्न रहेको निर्देशक भीमसेन लामाले बताएका छन्।

पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लन्डननको स्टुडियोमा भएको यो फिल्म प्रतिष्ठित ‘हर्टल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभल’मा समेत छनोटमा परेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार