गोरखा । गोरखा नगरपालिका भित्रका विधालय कर्मचारीले बजेट भाषणमा घोषणा गरिए अनुसार तलबबृद्धि नगरेको भन्दै ध्यानकर्षण पत्र बुझाएका छन् ।

कर्मचारीहरुले नगरपालिकालाई ध्यानकर्षण पत्र बुझाउँदै बजेट भाषणमा घोषणा गरिए अनुसार तलब वृद्धि गरिदिन माग गरेका हुन् ।
नगरपालिकालाई बुझाइएको ज्ञापन पत्रमा विभिन्न १३ वटा विद्यालयका कर्मचारीहरुले हस्ताक्षर गरेका छन् ।
गोरखा नगरपालिकाको शिक्षा शाखामार्फत माग फाराम भर्ने सन्दर्भमा प्रशारित सूचनालाई आधार मान्दा कुनै पनि थप रकम पालिकाबाट थप गर्न नसकिने भन्ने उल्लेख भएको भन्दै कर्मचारीहरुले आपत्ती जनाएका हुन् ।

नेपाल सरकारबाट स्वीकृत भएअनुसार केही पालिकाहरुले सोही अनुसारको निर्णयको आधारमा सुविधा थप गरी पारिश्रमिक निकासा गरेको र बाँकीले पनि वृद्धि गर्ने तयारी गरिरहेको पत्रमा उल्लेख गरिएको छ ।
उनीहरुले विधिको शासन र नीतिको कार्यान्वयनलाई सार्थक बनाउन कम्तिमा श्रमऐन अनुसार पारिश्रमिक दिन समेत नगरपालिकालाई आग्रह गरेका छन् ।
आफुहरुको माग सम्बोधन नभए आन्दोलनमा जान बाध्य हुने बिधालय कर्मचारीहरुको चेतावनी रहेको छ ।
