गोरखा । गोरखाकी पूर्णिमा श्रेष्ठले संसारको सातौँ अग्लो शिखर धवलागिरी हिमालको सफल आरोहण गरेकी छन्।
श्रेष्ठले आज बिहान म्याग्दीको धवलागिरी गाउँपालिका ४ मा पर्ने आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको सफल आरोहण गरेकी हुन्।
उनी धवलागिरी आरोहण गर्ने पहिलो नेपाली महिलासमेत बनेकी छन्। धवलागिरीमा विदेशी महिलाले सफल आरोहण गरे पनि नेपाली महिलाले भने आरोहण गर्न सकेका थिएनन्।
काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन्।
सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज बिहान ५ बजे धवलागिरिको सफल आरोहण गरेको बताए।
पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि वैशाख ३ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए।