बंगलादेशमा एक जना रोहिंग्या शरणार्थी नेताको गोली हानी हत्या गरिएको छ।
म्यानमारबाट आएका रोहिंग्या शरणार्थीको क्याम्पमा बुधबार साँझ चाररपाँच जना बन्दुकधारीले ४८ वर्षीय शरणार्थी नेता मोहिब उल्लाहलाई गोली हानेका थिए।
क्याम्पमा रहेको आफ्नो अफिसबाहिर अरू शरणार्थी नेताहरूसँग कुराकानी गरिरहेका बेला उल्लाहमाथि गोली हानिएको समाचार संस्था एपएफपी ले जनाएको छ ।
सन् २०१७ मा म्यानमार सरकारले राखिने प्रान्तमा दमन बढाएपछि लाखौं रोहिंग्या मुस्लिमहरूले छिमेकी बंगलादेशमा शरण लिएका थिए। बंगलादेशमा अहिले रोहिंग्या शरणार्थीका ३४ वटा क्याम्प बनाइएका छन्।
उल्लाहले रोहिंग्या शरणार्थीको हकहितमा काम गर्न आराकान रोहिंग्या सोसाइटी फर पिस एन्ड ह्युमन राइट्स भन्ने संस्था खोलेका थिए। म्यानमारमा रोहिंग्यामाथि भएको सैन्य दमनविरूद्ध आवाज उठाउन र बंगलादेशमा शरणार्थीहरूको अधिकारका लागि उनको संस्थाले काम गर्थ्यो।
उनको हत्या कसले गर्यो भन्ने अहिलेसम्म खुलिसकेको छैन। उनको संस्थाका एक जना अधिकारीले अतिवादी समूह आराकान रोहिंग्या स्यालभेसन आर्मीले उनको हत्या गरेको आरोप लगाएका छन्।