अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार छापा मारेको छ।
बर्दिबासस्थित अख्तियार कार्यालयबाट गएको टोलीले मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेर फर्किएको हो।
बेटी बचाऊ, बेटी पढाऊ अभियानका लागि भएको साइकल खरिदमा करोडौँ अनियमितता भएको उजुरी परेपछि छानविनका क्रममा अख्तियारले छापा मारेको हो।
प्रदेश २ सरकारले छोरीहरूलाई विद्यालय पठाउने अभियान चलाउन भन्दै ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम चलाइरहेको छ।
त्यस कार्यक्रमबाट बालिकाहरूलाई वितरण गर्न टेण्डर नै नगरी साइकल किनिएको थियो। साइकल खरिद र वितरणका क्रममा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको हो।