काठमाण्डौ । कोरोना भाइरस सङ्क्रमणको महामारीले सर्वसाधारणमा बढेको भय तथा त्रासले अल्जाइमरका रोगी बढ्दा भक्तपुर अस्पतालले निःशुल्क अल्जाइमर क्लिनिक सञ्चालनमा ल्याएको छ ।
अस्पतालले मनोरोग विशेषज्ञसहितको सेवा सञ्चालन गर्दै अल्जाइमर अर्थात् बिर्सने रोगको उपचार सुरु गरेको अस्पतालले बताएको छ ।
कोरोना महामारी र सङक्रमणले मानिसमा डर, त्रास बढेको, मनोबल घट्दै गएको, चिन्ता बढ्दै गएको र स–साना कुरामा पनि त्रासका कारण चिन्ता लिने क्रम मानिसमा बढ्दै गएपछि पछिल्लो समय सो अस्पतालमा धेरै मानिस अल्जाइमरको सेवा लिन आएपछि क्लिनिक नै सञ्चालन गरेको अस्पतालले जनाएको छ ।
अस्पतालले प्रत्येक बुधबार १० बजेदेखि २ बजेसम्म विशेषज्ञ सेवासहितको विशेष उपचार गर्न सुरु गरेको छ ।