काठमाडौं । यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनाका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिनुपर्ने भएकाले अहिलेसम्म त्यो अवस्था नरहेकाले मनसुन औसत समयभन्दा केही ढिलो बाहिरिने सम्भावना रहेको विभागले जनाएको छ ।
यस वर्ष मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो। यस वर्षदेखि मनसुनको अवधि परिमार्जन भएको छ। यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ मा बाहिरिने गरेको थियो। यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा मनसुन बाहिरिने बताइएको छ।
महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १३ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३६ दशमलव ७ डिग्री सेल्सियस रहेको छ।