
गोरखा । काेभिड ब्यवस्थापनसंगै स्वास्थ्य कार्यक्रम कार्यान्वयनमा गोरखा नगरपालिका गण्डकी प्रदेशमा सर्वोत्कृष्ट घाेषित भएकाे छ ।
गण्डकी प्रदेशका ८५ पालिकामध्ये स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालनमा गोरखा नगरपालिका सर्वोत्कृष्ट भएको प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत आर्थिक बर्ष २०७७/०७८ मा सम्पन्न गरिएका कार्यक्रमहरुको समीक्षा गोष्ठीमा सो घाेषणा गरिएको थियो । बिभिन्न सुचक अन्तरगत गोरखा नगरपालिकाले ८०.५३ प्रतिशत अंक हाँसिल गरेको बताइएकाे छ ।

जसमा खोप, सुरक्षित मातृत्व, परिवार नियोजन, महामारी रोग नियन्त्रण लगायतका सूचकका आधारमा मूल्यांकन गरिएको थियो ।
पालिकाभरका स्वास्थ्य सम्बन्धी गतिविधिलाई तथ्यांक संकलन, विश्लेषण सम्बन्धी सफ्टवेयरमा नियमित रुपमा अद्यावधिक गर्ने गरिएकाले पनि गोरखा नगरपालिकाको नतिजा सर्वाेत्कृष्ठ हुन सफल भएकाे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले जानकारी दिए । शाखाले स्वास्थ्य गतिविधिलाई नियमित डिजिटलाइज्ड गरेको थियो ।

त्यस्तै मूल्यांकमा गोरखाका अन्य दुई पालिका पनि उत्कृष्ट १० भित्र पर्न सफल छन् । पालुङ्टार नगरपालिका र सिरानचोक गाउँपालिकाले पनि उत्कृष्ट सातौँ र दशौँ स्थान हात पार्न सफल भएका छन् ।

