साताको पहिलो दिन आइतबार र सोमबार उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि घटेको छ ।
मंगलबार नेप्से परिसूचक ७० दशमलव ०१ अंकले घटेर २ हजार ६ सय १५ दशमलव ४० अंकमा झरेको छ । यो साता लगातार तेस्रो दिन सेयरबजारमा ठूलो गिरावट आएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले घटेर २६१५.४० विन्दुमा र सेन्सिटिभ सूचक ११.४२ अंकले घटेर ४९४.९१ विन्दुमा रोकिएको छ।
दिनभरिमा ७५ हजार ३ सय ७४ पटकको खरिदबिक्रीमा ५ अर्ब ७४ करोड ५४ लाखको मात्र कारोबार भएको नेप्सेले जनाएको छ।
शेयर बजारमा कारोबार हुने अधिकांश कम्पनीको शेयर मूल्य मंगबलार घटेको छ । धेरैघ ट्नेमा फाइनान्स कम्पनीहरु देखिएका छन् । फाइनान्स कम्पनीको सवइन्डेक्स ७ दशमलव ३७ प्रतिशतले घटेको छ ।
मनकामना स्मार्ट लघुवित्त, मैलुङ खोला जलविद्युत् कम्पनी, मेगा बैंक लगायतका केही कम्पनीहरुको शेयर मूल्य भने बढेको छ ।