काठमाडौं । दसैँमा घर जानेहरुका लागि सोमबार (आज) बाट अग्रिम टिकट बुकिङ खुला गरेको छ ।
गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ समेत थप गरिएको छ । सरकारले सोमबारदेखि दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो ।
दसैँ नजिकीएसँगै काठमाडौं उपत्यका छोड्ने क्रम सुरु भएको छ । बिहान ७ बजेदेखि टिकट बुकिङ सुरु भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जानकारी दिएको छ ।
यातायात व्यवस्था विभागले सोमबारदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो ।
गत बिहीबार विभाग, यातायात व्यवसायी, ट्राफिक प्रहरी, उपभोक्ता अधिकारकर्मी लगायतको छलफलले यस्तो निर्णय गरेको थियो । सरकारले गत असार २९ गते सार्वजनिक सवारीको भाडा समायोजन गरेको थियो ।