• बुधबार, असोज ७ २०८३

विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज २ घण्टापछि काठमाडौंमै अवतरण


सोमबार, असोज ११ २०७८
540
Shares

काठमाडौँ । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्डिङ गियर (पाङ्ग्रा) नखुल्दा झन्डै दुई घण्टापछि काठमाडौंमै अवतरण गरिएको छ ।

८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किएको हो ।

बायाँपट्टिको ल्यान्डिङ गियरमा समस्या देखिएपछि काठमाडौं फर्किनु परेको बुद्ध एयरले जनाएको छ । जहाजलाई काठमाडौंमा अवतरण गराउन आधा घण्टा विमानस्थल बन्द गरिएको थियो । अल्टिच्युड एयरका क्याप्टेन विवेक खड्काले हेलिप्याडबाट उक्त जहाजको तस्बिर खिचेर टावरलाई ल्यान्डिङ गियर खुलेको जानकारी गराएका थिए ।

साथै आकस्मिक अवतरणको तयारीस्वरूप विमानस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना दमकलसहित उपस्थित थिए । तर आकस्मिक अवतरण नभई ुएसुरेन्स ल्यान्डिङु भएको बुद्ध एयरले जनाएको छ ।

उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाएका थिए । जहाजमा ७३ यात्रु र चालकदलका ४ सदस्य सवार थिए । विमानस्थलमा यात्रुहरूको स्वास्थ्य जाँच गरिने र त्यसपछि अर्को जहाजमा विराटनगरमा पठाइने विमानस्थल कार्यालयले जनाएको छ ।

बुद्ध एयर आजको घटनाको छानबिनका लागि समिति बनाउने भएको छ । समितिले अनुसन्धानपछि आफ्नो रिपोर्ट नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार