बेलायती सेनाको सर्वोच्च पदक भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापाको सालिक अनावरण गरिएको छ ।
प्रथम विश्वयुद्धमा देखाएको अदम्य साहसका कारण पदक पाउनुभएका गोर्खा राइफलम्यान थापाले ब्रिटिश सैनिकलाई बोकेको पूर्णकदको सालिक अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा अनावरण गरियो ।
बेलायती रक्षा तथा भेट्रान्स राज्यमन्त्री लियो डोचेर्टी, ह्याम्पसायर काउन्टीका डेपुटी लर्ड लेफ्टिनेन्ट मणिकुमार राई, बेलायती सेनाका कमाण्डर होम कमाण्ड एण्ड स्ट्याण्डिङ जोइन्ट कमाण्डर लेफ्टिनेन्ट जनरल इयान केभ सिबी तथा नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल लगायतले संयुक्त रुपमा सालिक अनावरण गरेका थिए ।
ग्रेटर रसमोर नेपलिज कम्युनिटीको नेतृत्वमा नेपाली तथा विदेशीबाट चन्दा सङ्कलन गरी शालिक बनाइएको हो । कम्युनिटीका अध्यक्ष रामधन राईले गोर्खा समुदायले बेलायतलाई गरेको सहयोग र सेवाको भाव र सम्बन्धलाई देखाउने गरी िालिक निर्माण गरिएको बताए । उहाँले सालिक निर्माणका लागि करिब एक लाख ८० हजार पाउण्ड सङ्कलन भएको जानकारी गराए । अध्यक्ष राइले रसमोर बरो काउन्सिलले सालिक मर्मत सम्भार पनि गर्ने जानकारी गराएका थिए ।
सालिक बेलायतकी कलाकार एमी गुडम्यानले निर्माण गरेका थिए ।